दार्चुला । इजरायलमा भएको आक्रमणमा दार्चुलाका दुई सहित १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
इजरायलमा गएको शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो । प्यालेस्टिनको विद्रोही समूह हमासले आक्रमण गरेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपाली विद्यार्थीलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको छ । इजरायली सेनाले स्कर्टिङ गरेर आफूहरूलाई सुरक्षित स्थानतर्फ लगेको बर्दियाका लुइस रिजालले भिडियो सन्देशमार्फत जानकारी गराउनुभएको छ । उनीहरूलाई इजरायली सेनाले बङ्करबाट निकालेर तेल अभिभतर्फ लगेको छ ।
उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममा गएका हुन् । आक्रमणमा उनीहरूकै समूहका १० जनाको ज्यान गएको हो ।
यसअघि इजरायलमा हमास विद्राहीको आक्रमणमा परेर मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार एक विज्ञप्ती जारी गर्दै विद्रोही समूहको आक्रमणबाट मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रतिपरिवार २ लाखका दरले राहत उपलब्ध गराउने बताएका छन् ।
इजरायलमा भएको आक्रमणको निन्दा र भत्र्सना गर्दै मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्क विहिन तथा घाइते विद्यार्थीहरुको यथाशीघ्र उद्धारका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावासलाई आग्रह गरेका छन् । यस्तै आक्रमणमा परी मृत्यु भएकाहरुको शव यथाशीघ्र नेपाल ल्याउने पहल गर्न पनि मुख्यमन्त्री शाहले आग्रह गरेका छन् ।
सर्वदलिय बैठकमा समेत यो विषयमा छलफल भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया