दार्चुला । नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्ट डडेल्धुरामा सम्मानित भएका छन्। संगठनको प्रदेशस्तरीय बैठकमा सहभागी हुन डडेल्धुरा पुगेका भट्टलाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले सम्मान गरेको हो।
माओवादी सुदूरपश्चिम प्रदेश कमिटीको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा बैठक’ आइतबारदेखि डडेल्धुराको अजयमेरु गाउँपालिका ३ स्थित भद्रपुरमा सुरु भएको छ। बैठकमा सहभागी पार्टीका केन्द्रीय उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रदेश कमिटीका तर्फबाट भट्टलाई सम्मान गरेका हुन्।
माओवादी सुदूरपश्चिम इन्चार्ज खजराज भट्टले संगठनको राष्ट्रिय अध्यक्षमा आफ्नो प्रदेशबाट भट्ट नेतृत्वमा पुगेकाले बधाईका साथै पार्टीले सम्मान गरेको बताउनुभयो।
सम्मान ग्रहण गर्दै भट्टले संघीय निजामती सेवा ऐन ल्याउन र सुशासन र समृद्धिको यात्रामा सरकारको कदमलाई संगठनले हरतरहले सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले पार्टीको अभियान सँगसँगै संगठनको पनि अभियान चलिरहेको पनि जानकारी गराउनुभयो ।
अध्यक्ष भट्टलाई सम्मान गर्दै पार्टीका उपमहासचिव गजुरेलले कर्मचारीको हक हित तथा सुशासनको पक्षमा उभिन शुभकामना दिनुभएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




