दार्चुला । दुर्गमका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता बुझ्न दिनभरी हिड्नुपर्ने बाध्यता रहेको छ । लेकम गाउँपालिका–६ तिउनेगाउँका ९० वर्षीय मनि नाथ केही दिन पहिले सामाजिक सुरक्षा भत्ता बुझ्न लेकम–५ मा रहेको लक्ष्मी सनराइन बैंकमा पुग्नुभयो । पालो कुरेर भत्ता बुझ्दै गरेका नाथले भन्नुभयो, गाडी नपाए बैंकसम्म आउन सक्दिन, गाडी पाए समेत आउदाजादा पाँच सय भाडा तिरेर कष्टपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । गाउँमै सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था भए सहज हुने उहाँको भनाई छ ।

लेकम गाउँपालिका–१ सेजालीका ७४ वर्षीय हरसिंह कार्कीले सामाजिक सुरक्षा भत्ता बुझ्न बिहान ६ बजे घरबाट आउने गरेको बताउनुभयो । विहान उठ्नेवित्तिकै बैंकका लागि हिड्दा भत्ता बुझेर घर फर्किदासम्म बेलुकी भइसक्छ, उहाँले भन्नुभयो, भत्ता बुझ्नका लागि दिनभरी हिड्नुपर्ने र बैंकमा पालो कुर्नुपर्ने बाध्यता छ । लेकम गाउँपालिका–२ का ७२ वर्षीय लालसिंह धामीले पनि घण्टौँ हिडेर बैंकसम्म आउनुभन्दा गाउँघरमै वा वडामै भत्ता बुझ्ने व्यवस्था भइदिए सहज हुने बताउनुभयो । अधिकासं सामाजिक सुरक्षा भत्ता बुझ्ने वृद्धवृद्धाहरु भत्ता थाप्न घण्टौँ पैदल हिडेर बैंकसम्म पुग्ने गरेका छन् । बिहानको झिसमिसँगै हिडेर सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्न सास्ती हुने गरेको उहाँहरुको गुनासो छ । बुढेसकालमा गलेको ज्यान एक घण्टाकै बाटोमा धेरै समय लाग्ने गरेको गुनासो छ ।

कतिपय गाउँ जाने बाटो समेत राम्रो बनाइएको छैन् । हरेक तीन महिनामा यसरी बैंक धाउदा धेरै समस्या हुने गरेको छ, लेकमका कौसा बोहराले भन्नुभयो, बुढेसकालका कारण समय बित्दै जाँदा हिड्डुल गर्न समस्या हुने गरेको छ । कतिपयका छोराछोरी तथा हकवालाले भत्ता बुझेर लैजाने गरेको भएपनि अधिकासं वृद्धवृद्धा आफै बैंक पुग्ने गरेका छन् । हकवाला नहुनु वा कामको सिलसिलामा गाउँ बाहिर हुनुको कारणले समेत कतिपयलाई सकिनसकी बैंक पुग्नुपर्ने बाध्यता छ । बैंकमा खाता खोलिएको छ । चेकसाट्नु परे पुग्नै प¥यो, लेकम–२ का गुन्जे धामीले भन्नुभयो, खातामै राख्यो भने, घरमा नुनतेल के ले गर्ने भन्ने समस्या हुन्छ । लेकमका अधिकासं वडामा सडक पुगेपनि यातायातको सुविधा छैन् । बुढेसकालमा हिँड्दा पनि शरीर दुख्ने गर्छ । यसरी घण्टौँ पैदल हिँडेर भत्ता लिनेहरु साह्रै कष्टकर यात्रा गर्नुपरेको अनुभव सुनाउँछन् ।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थालेपछि हरेक स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । तर दुर्गम गाउँमा बसोबास गर्ने नागरिकलाई स्थानीय तहका बैंकसम्म पुगेर भत्ता थाप्न दिनभरी पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ । बुढेसकालमा लौरोको सहारामा घण्टौँ हिँड्दा हैरान खेप्नुपरेको वृद्धवृद्धा गुनासो गर्छन् । उमेरले डाँडा काटेपछि हिड्न कठिन हुन्छ । बुढेसकालको सहारा बनेको भत्ता थाप्न लौरो टेकेर हिँड्नैपर्ने कर छ, वृद्धा भागरथी भट्टले भन्नुभयो, स्थानीय तह आउनुभन्दा अघि वडा सचिव वा कर्मचारीले घरघरमै लगेर बाँड्ने गरेका थिए । कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो ।

बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको स्थानीयवासी सुनाउँछन् । बैंकबाट भत्ता सम्बन्धित व्यक्तिको खातामै जाने भएकोले अनियमितता भने रोकिएको बताइन्छ । तर भौगोलिक विकटता र सडक पहुँच नहुँदा वृद्धवृद्धालाई हिडडुलमा समस्या हुने गरेको छ । बैंकहरुलाई दुर्गम क्षेत्रमा घुम्ती रुपमा भत्ता वितरणको लागि अनुरोध गरेपनि बैंकमा कर्मचारी अभाव लगायत कारणले सम्भव नभएको जनप्रतिनिधिहरु बताउछन् ।

www.facebook.com/RadioLokdarpan1/

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?