दार्चुला । बैतडीका विभिन्न शक्तिपीठमा जात्राको रौनक छाएको छ। जात्राकै लागि जिल्लाका पाँचओटा स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ।
स्थानीय शक्तिपीठमा जात्रा रहेकाले जिल्लाको पाटन नगरपालिका, शिवनाथ गाउँपालिका,डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका र पुर्चौंडी नगरपालिकाले सार्वजनिक बिदा दिइएको हो।
पाटन नगरपालिका –२ स्थित प्रसिद्ध महारुद्र धाममा लागेको जात्राको अवसरमा सार्वजनिक बिदा दिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो। महारुद्र जात्रामा स्थानीयवासीको सहभागिता रहने र यो क्षेत्रको मुख्य धार्मिकस्थल भएकाले आज बिदा दिएको जनाइएको छ।
यस्तै शिवनाथ गाउँपालिकामा पनि मंगलबार सार्वजनिक बिदा दिइएको छ। प्रसिद्ध शिवनाथ धामको जात्राको अवसरमा सोमबार र मंगलबार दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो। शिवनाथ जात्रामा स्थानीयवासीको सहभागिता रहने भएकाले पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ। शिवनाथ धामको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुगेका छन्।
यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकाले पनि मंगलबार सार्वजनिक बिदा दिएको छ। गाउँपालिका–५ स्थित प्रसिद्ध कफलाशैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो।
कफलाशैनी जात्राको अवसरमा स्थानीयवासीको उल्लासमय सहभागिता रहने भएकाले पालिकाका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको छ।
यस्तै जिल्लाको दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्र बुधबार सार्वजनिक बिदा दिएको छ। नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको नगरपालिकाले जनाएको छ।
स्थानीयले रणशैनी भगवतीको रूपमा पुकार्ने त्रिपुरासुन्दरी जात्राको अवसरमा भोलि पालिकाभर सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
यस्तै पुर्चौंडी नगरपालिकाले पनि बुधबार र बिहीबार नगर क्षेत्रभित्र स्थानीय बिदा दिएको छ । पुर्चौंडी नगरपालिका–१ हाटस्थित प्रसिद्ध त्रिवेणी राताशिला धाममा गिरेगडा कफलखाना जात्रा लाग्ने भएकाले बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया