दार्चुला । सार्वजनिक शिक्षा सुधारका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले महाकाली नगरपालिकामा विभिन्न मागसहित ज्ञापन पत्र पेश गरेको छ ।

सामुदायिक विद्यालयमा पढाउने शिक्षक कर्मचारी र महाकाली नगरपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधीहरुका छोराछोरीहरुलाई शैक्षिक सत्र २०८१ मा अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने, आधाभूत तह (१–५) मा समेत विषयगत दरबन्दीको व्यवस्था गरिनु पर्ने र सार्वजनिक शिक्षा सुधारका लागि नगरपालिकाले २०८१ बैशाख महिना भित्र नगरपालिका स्तरीय सर्वदलिय, सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम संचालन गर्नु पर्ने माग गर्दै नगर उपप्रमुख दुर्गाकुमारी खत्री बिष्टलाई ज्ञापन पत्र बुझाइएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । राखेका माग प्रति नगरपालिकाले तीन दिन भित्र सकरात्मक संकेत नदेखाएमा अनेरास्ववियुले रचनात्मक आन्दोलन अगाडी बढाउने चेतावनी दिएको छ ।

अखिलले बुझाएको ज्ञापन पत्र हेर्नुहोस
श्री नगर प्रमुख ज्यू
महाकाली नगरपालिका, दार्चुला ।
नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देशमा ब्याप्त शैक्षिक विकृतिका विरुद्ध अवाज बुलन्द गर्दै परिवर्तनको रेखा कोर्न सडक आन्दोलनबाट स्थापित संगठन हो। २००७ सालको प्रजातन्त्र प्राप्ति देखि २०७२ को नेपालको संविधान घोषणा सम्म पुग्दा सार्वजनिक शिक्षा सुधार र नागरिकको पहुँचमा सर्वसुलभ सहित गुणस्तरिय शिक्षाको विषय अनेरास्ववियूको एक सुत्रीय एजेण्डा हो । नेपालको संविधान २०७२ को भाग ३ ले शिक्षा सम्वन्धीको हकलाई मौलिक हकको रुपमा परिभाषित गरेको छ भने, अनुसूची ८ ले आधारभूत र माध्यमिक तह सम्मको शिक्षाको सम्पुर्ण अधिकार स्थानीय सरकारलाई प्रत्यायोजन गरेको छ । यसलाई अधिकारको रुपमा मात्र नभई व्यवहारतः पुर्ण रुपमा कार्यन्वयनमा ल्याउनु पर्दछ ।

एकातर्फ सरकारले सार्वजनिक शिक्षा सुधारको योजना अगाडी बढाएको छ भने अर्को तर्फ सरकारी बेतनधारी र सार्वजनिक व्यक्तिहरुले नै संस्थागत विद्यालय संचालनमा ल्याई आफ्ना छोराछोरी बोडिङ स्कुलमा पढाइ रहेका छन् । यसले सार्वजनिक शिक्षाको गुणस्तर मात्र नभई सार्वजनिक निकाय माथी नै नागरिकको अविश्वास बढ्दो छ । सार्वजनिक विद्यालयमा पढाउने शिक्षकका छोराछोरीहरु नै सार्वजनिक विद्यालयमा भर्ना नगर्नु र नियमनकारी निकायले नियन्त्रण गर्न नसक्नु सार्वजनकि शिक्षा माथीको भद्दा मजाकमात्र नभई उहाँहरुको आफै प्रतिको अविश्वास हो भन्ने कुरा पुष्ठी हुन्छ ।जब आफुले पढाइ रहेको विद्यालय र विषयमा समेत आफै प्रति विश्वास छैन भने यसले सार्वजनिक शिक्षाको सुधार र गुणस्तरीय शिक्षाको कल्पना गर्न नसकिने अनेरास्ववियुको ठम्याइ हो ।

यसर्थ सार्वजनिक शिक्षा सुधारका निम्ती निम्न माग सहित नगरपालिका समक्ष यो ज्ञापनपत्र पेश गर्दछौ ।

१. सामुदायिक विद्यालयमा पढाउने शिक्षक कर्मचारी र महाकाली नगरपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधीहरुका छोराछोरीहरुलाई शैक्षिकसत्र २०८१ मा अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने ।
२.आधाभूत तह (१–५) मा समेत विषय गत दरबन्दीको व्यवस्था गरिनु पर्ने ।
३. सार्वजनिक शिक्षा सुधारका लागि नगरपालिकाले २०८१ बैशाख महिना भित्र नगरपालिका स्तरीय सर्वदलिय, सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम संचालन गर्नु पर्ने ।
उपर्युक्त माग प्रति नगरपालिकाले ३ दिन भित्र सकरात्मक संकेत नदेखाएमा अनेरास्ववियु रचनात्मक आन्दोलन अगाडी बढाउने चेतावनी दिन चाहान्छ ।
…………..
अध्यक्ष
(नरेन्द्र प्रसाद जोशी)

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?