
दार्चुला । मालिकार्जुन गाउँपालिका, प्रारम्भिक तह पढाई कार्यक्रम र एकिकृत सामुदायिक विकास परियोजनाको सयुक्त आयोजनामा मालिकार्जुन गाउँपालिकाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको सहभागितामा एक दिने शैक्षिक गुणस्तर सुधारका लागि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शंकरपुर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिनेश राज पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरासिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमले शिक्षा क्षेत्रको विद्यमान समस्या, चुनौति, असल अभ्यास तथा रचनात्मक क्रियाकलापहरूकाबारे वडा अनुसार छलफल गरि आगामि शैक्षिक शत्रका लागि गुणस्तरिय शैक्षिक उपल्ब्धिका लागि कार्य योजना निर्माण गरेको सिआरडिएस नेपालका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिनुभयो । विद्यालयहरुमा भौतिक संरचनाको अभाव, मसलन्द खर्च न्यून, दिवा खाजा व्यवस्थापनमा भान्सा र भान्सेको समस्या, बालमैत्री बसाई व्यवस्थापनमा समस्या, खानेपानि तथा सरसफाईको कमि लगायत समस्याहरु रहेको पाइएको छ । यस्तै शैक्षिक सामग्री निर्माण तथा शैक्षिक सामग्रीको प्रयोग कम हुनु, नव नियुक्त शिक्षकहरूलाई तालिमको अभाव, भौगोलिक विकटता, दरबन्दी र विषयगत शिक्षकको अभाव रहेको पनि छलफलबाट निष्कर्ष निकालिएको उहाँले बताउनुभयो ।
आइसिटी तालिमको अभाव, ईन्टरनेट तथा ल्यापटपहरूको प्रयाप्त उपलब्धता नहुदा शैक्षिक गतिविधि तथा अन्य काममा बाधा भएको समेत पाइएको छ । विशेष गरि प्रधानाध्यापकहरूले कक्षा अनुगमन तथा सुपरिवेक्षण गर्नु पर्ने र अन्य शिक्षक शिक्षिकाहरूलाई रचनात्मक सल्लाह सुझाव दिई प्रेरणा प्रदान गर्न सके शैक्षिक उपलब्धि बढाउन सकिने साझा बुझाई पनि बनाइएको कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
कार्यक्रममा सहभागिहरुबाट गाउँपालिका, वडा, विव्यस, अभिभावकहरूको सहभागितामा शैक्षिक उपलब्धिमा सहयोग पुग्ने र योजना तर्जुमाका बेला शिक्षामा प्रयाप्त बजेट छुट्याउनु पर्ने माग समेत आएको थियो ।
यसैबिच गोष्ठीमै पालिका भरिमा उत्कृष्ठ कार्य सम्पादन गर्ने शिक्षिका दिपज्योति आधारभुत विद्यालय रञ्चनिका शिक्षिका सुना चैसिरलाई सम्मान समेत गरिएको थियो ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।