दार्चुला । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएका छन् ।
एमालेले प्रदेशसभा सदस्यहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीको नाम मुख्यमन्त्रीलाई दिएको स्रोतको भनाइ छ । यस्तै माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएको स्रोतले जानकारी दिएको छ । यद्धपी माओबादीका पाँच सासंदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् ।
मुख्यमन्त्री सोडारीले स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारादत्त जोशीलाई समेत सरकारमा सहभागी गराएर सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार सोडारीले साँझ ५ बजे शपथ ग्रहणको व्यवस्था मिलाइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरिसक्नुभएको छ । प्रमुख सत्ता साझेदार एमाले र माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम मुख्यमन्त्रीलाई बुझाएपनि मन्त्रालयगत भागबन्डा नमिल्दा समस्या भइरहेको बताइएको छ ।
भौतिक पूर्वाधार, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्रयाएर मन्त्री नियुक्त गर्ने तयारीमा रहेका मुख्यमन्त्रीलाई सत्तारुढ दलभित्रैबाट मन्त्रालय विभाजन गर्न नहुने दबाब रहेको छ ।
मुख्यमन्त्री सोडारीले भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका बेला उनकै क्याबिनेटका मन्त्री विपक्षमा उभिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले मन्त्रालय विभाजनमा सहमत हुन नसकिने अडान लिनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया