दार्चुला । सुदूरपश्चिम प्रदेशसभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले मङ्गलवारको प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।
विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरे। माओवादी केन्द्रका सांसद शिवसिंह ओली र नागरिक उन्मुक्तिका संसदीय दल नेता घनश्याम चौधरीले विधेयक राना थारू समुदायको मर्म र भावना विपरीत आएको भन्दै आपत्ति जनाउनुभएको थियो । निजामती सेवामा राना थारू समुदायको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने ओलीको माग थियो। राना थारू समुदायको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व कम गराउने गरी विधेयक संशोधन गरिएको चौधरीले बताउनुभएको थियो । तर नेकपा (एमाले) र काँग्रेसका सांसदहरूले उक्त विधेयकको समर्थन गरेपछि बहुमतले पास भएको हो ।
एमालेका सांसद चक्र मल्लले निजामती सेवा ऐन पारित नहुँदा प्रदेशको कार्य सम्पादनमा बाधा, अड्चन आएको बताउनुभयो । उहाँले प्रदेश सभाको बैठकमा भन्नुभयो, ‘सबैको मुद्दा समेटिएको छ, ढोकाहरू बन्द भइसकेका छैनन्।’
सांसद तुलसी देवकोटाले कार्यान्वयनको पाटोमा बढी ध्यान दिनुपर्ने बताउनुभयो । ‘ऐन कार्यान्वयनमा नआई संशोधनमा जाने प्रवृत्ति बढेको उहाँको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




