दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ ले हरिनगर गोकुलेश्वरमा आयोजना गरेको चर्मण्वती डेउडा उत्सवको उपाधी लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली दार्चुलाका दयाकृष्ण पन्तले प्राप्त गर्नुभएको छ । यही भदौ १९ गतेदेखि सुरु भएर शनिबार (आज) चौथो दिन सम्पन्न भएको खुल्ला डेउडा प्रतिस्पर्धाको अन्तिम नजिता अनुसार पन्तले प्रथम स्थान हासिल गर्नुभएको हो ।
फाइनल प्रतिस्पर्धा दयाकृष्ण पन्त र मञ्जु गिरी बिच भएको थियो । पन्त प्रथम हुँदा कञ्चनपुरको भिमदत्त नगरपालिकाका गिरीले उपविजेता (द्धितीय स्थान) मा चित्त बुझाउनुपरेको छ । यस्तै उक्त डेउडा खेलमा कमला बिष्टले तृतीय स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा प्रथम स्थान हालिस गर्नेलाई नगद १५ हजार, द्धितीय स्थान प्राप्त गर्नेलाई नगद १० हजार र तृतीय स्थान प्राप्त गर्नेलाई नगद ५ हजार सहित सम्मानित गरिएको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सुरक्षाकर्मी, सञ्चारकर्मी र निर्णायक मण्डललाई समेत कार्यक्रमको समापन समारोहमा सम्मानित गरिएको छ ।
डिलाशैनीको वडा नम्बर ५ का वडाअध्यक्ष एबं गाउँपालिका प्रवक्ता यज्ञराज भट्टको अध्यक्षता तथा डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न डेउडा प्रतियोगितामा अतिथिहरु, डेउडिडा, डेउडाप्रेमी दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।
खेलको तेस्रो दिन (हिजो) खेलप्रेमीहरूको बाक्लो उपस्थितका बिच सेमिफाईनल सम्मका सबै प्रतियोगिताहरु सम्पन्न भएर आज फाइनल प्रतिस्पर्धा भएको हो । शुक्रबार (हिजो) एक समारोहका बिच लेकमका देउडिया गङ्गा दत्त पन्तलाई चर्मण्वती उदयमान युवा देउडा खेलाडी सम्मान, पुर्चौडीका अजब बहादुर ढुङ्गाल लाई देउडा गीत÷सङ्गीत संरक्षण सम्मान र डिलाशैनीका परमानन्द जोशी लाई ढुस्कु/धुमारी/ठाडो खेल चर्मण्वती लोक–सस्कृती सम्मान पुरुस्कार द्वारा सम्मानित गरिएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




