बैतडी। संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूले पाएको पदको सम्मान हुने गरी काम गर्ने बताउनुभएको छ । बैतडीबाट निर्वाचित सांसद समेत रहनुभएका भण्डारीले आइतबार बैतडीको मेलौलीस्थित एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पदसँग नेता कार्यकर्ता र मतदाताको रगत, पसिना जोडिएकाले सबैको अभिभारा पुरा गर्ने गरी काम गर्ने बताउनुभएको हो ।
उहाँले वर्तमान सरकारलाई सफल बनाउन सबै नेता कार्यकर्ताहरूलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो । जनताको आग्रहमा आएका योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाइ छ । मन्त्री भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको निवर्तमान सरकारले एकलौटी ढङ्गबाट बजेट ल्याएको बताउनुभयो । प्रचण्ड नेतृत्वको सरकारले एमालेसँग कुनै समन्वयन नगरी बजेट पारित गरेको उहाँको भनाई छ ।
‘विगतको सरकारमा म पनि सहभागी थिए, तर म आबद्ध पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समन्वयन हुने गरेको थिएन, मैले अघि सारेका योजनाहरू कटौती गरिए,’ उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षका योजनाहरू पनि परिमार्जन गरेर कार्यान्वयन गरिने छन्।’
उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने गरी विकास निर्माणका योजना ल्याउनुपर्नेमा मन्त्री भण्डारीको जोड छ । ‘अहिलेसम्म कति सडक पुगे ? सडकको कति उपयोग भयो ? यसमा ध्यान दिनुपर्छ । बजेटले प्रतिफल दिएन भने यसको के अर्थ ? त्यसैले कुनै पनि योजनाले परिणाम दिनपर्ने हुन्छ’ उहाँले भन्नुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया