दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा यस वर्ष २२ सय मेट्रिक टन स्याउँ उत्पादन भएको छ । सामान्यतया जिल्लाको सबै क्षेत्रमा स्याउँ फल्ने भएपनी अपिहिमाल, नौगाड, मार्मा र दुहुँ गाउँपालिका तथा महाकाली नगरपालिकाका केहि क्षेत्रमा स्याउँ उत्पादन राम्रो हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाइ दार्चुलाका कार्यालय प्रमुख कमल तामाङले जानकारी दिनुभयो ।
दार्चुलामा स्याउँ उत्पादनको लागी २६१ हेक्टर जमीन उपयुक्त रहेको भएपनी १९० हेक्टर (क्षेत्र) जमिनमा मात्रै स्याउँ खेती भइरहेको कार्यालय प्रमुख तामाङले बताउनुभयो । जसमध्ये यसवर्ष दार्चुलामा २२ सय मेट्रिक टन स्याउँ उत्पादन भएको छ । जिल्लाको नौगाड गाउँपालिका र मार्मा गाउँपालिकामा फलेको स्याउँ जंगली जनावरको प्रकोपका कारण अशोज पहिलो साताबाटै बजारमा आइपुगेको थियो ।
अहिले अपिहिमालको खण्डेश्वरीमा फलेको स्याउँ पनी बजारमा आइपुगेको छ । यस्तै व्याँस गाउँपालिकाको विभिन्न क्षेत्रमा फलेको स्याउँ नेपालतर्फ बाटो नहुदा र खर्च पनी बढी लाग्ने भएकाले बोटहरुमै ठेक्का गरी बिक्रि गरिएको स्थानीय चरन सिंह बुढाथोकीले बताउनुभयो । दुहुँ महाकाली र अपिहिमालका केहि क्षेत्रमा फलेको स्याउँ ७५ प्रतिशत स्थानीय बजारमै खपत भइरहेको बताइएको छ । चाडपर्वको बेला भएकाले यसवर्ष स्थानीय बजारहरुमै स्याउँको राम्रो बिक्रिबितरण भइरहेको स्थानीयहरुले बताएका छन् ।
जिल्ला सदरमुकाम खंलगा लगायत बजारहरुमा अहिले दार्चुलामा फलेको स्याउँ प्रतिकिलो २५० रुपैयाँमा बिक्रि भइरहेको छ । दार्चुलामा इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातको स्याउँ बढी फल्ने गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया