दार्चुला । दार्चुलाको शिखर धुरामा आज पूजन जात्रा लागेको छ । प्रतेक वर्ष असार शुक्ल चतुर्दशी र कात्तिक शुक्ल त्रयोदशीका दिन शिखर धुरामा पूजन जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल त्रयोदशीको शिखर पूजन जात्रा यसपाली पनि कार्तिक २८ गते आज बिहानदेखि सुरु भएको हो ।
जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शिखर धामको पूजन जात्रामा दार्चुला बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतका विभिन्न क्षेत्रका भक्तजनहरुको घुईचो लागेको छ ।
हिजो बेलुकीबाटै शिखर पूजन जात्रामा सहभागी हुन दर्शनार्थीहरु मन्दिरमा पुगेका थिए । पवित्र मनले शिखर धामको दर्शन गर्नाले पुण्य मिल्ने, निःसन्तालाई सन्तान, सुख प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषले एक महिना अर्थात् १५ दिन अगाडिदेखि नै शुद्ध भएर एक छाक खान खाएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने धार्मीक मान्यता रहेको छ । शिखर पूजन जात्राबाट फर्किने भक्तजनहरुलाई लटिनाथ मन्दिर चौडमा मातृभूमी युवा क्लब सेलिचाले फलफूल बितरण समेत गरिरहेको छ ।
आज शिखर धाममा पूजन जात्रा सकिएपश्चात् भोलि बिहिवार अर्थात् कार्तिक २९ गते मालिकार्जुन मन्दिरमा रात्रीजात्रा लाग्ने गरेको छ । रात्रीजात्राको समेत आवश्यक तयारी पुरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रा अवधिभर उक्त क्षेत्रमा मदिरा सेवन, बिक्रि, बितरण, जुवा तास खेल्न खेलाउन पुर्णतया रोक लगाईएको मन्दिर व्यवस्थापन समितिले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया