दार्चुला । करिब तीन बर्ष पहिले शिलान्यास भएर लामो समय निर्माण कार्य अलपत्र परेको लेकम गाउँपालिका-५ चौपाताको आधारभूत अस्पताल निर्माणको काम बल्ल सुरू भएको छ । नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले २०७७ साल मङ्सिर १५ गते चौपातामा १० शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास गरिएको थियो ।
संघ र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण कार्य सुरु भएको अस्पतालमा पेश्की रकम लिएर ठेकेदारले जमिन सम्याउने काम समेत पूरा नगरि निर्माण कार्य अलपत्र छोडेको थियो । ७ करोड बढी बजेटमा निर्माण भइरहेको उक्त अस्पतालको निर्माण कार्य अबको एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य सहित निर्माणकार्य सुरु भएको निर्माण कम्पनी शिवशक्ति जगदम्बा एमुना जेभीका प्रतिनिधि पदम कार्कीले जानकारी दिनुभयो । विगतमा निर्माण कम्पनीले भवनको लागि फिल्ड सम्याएर छोडेको भएपनी पटकपटकको ताकेतापछि अहिले पुनः निर्माण कार्य सुचारु गरेको लेकम गाउँपालिकाका इन्जिनियर केशब बहादुर पालले बताउनुभयो ।
उहाँका अनुसार निर्माण कम्पनीले (भ्याट बाहेक) सात करोड १५ लाख ७३१ रुपैयाँमा भवन निर्माणको सम्झौता गरेको छ । निर्माणस्थलमा अहिले भवनको जग बनाउने काम भइरहेको छ ।
अस्पताल निर्माण भई सञ्चालनमा आएमा स्थानीयहरुले आधारभूत स्वास्थ समस्याको लागि टाढाका अस्पताल धाउनुपर्ने अवस्थाको अन्त हुने विश्वास गरिएको छ । लामो समयपछि अस्पतालको निर्माणकार्य सुचारु भएसगै लेकमवासी खुशी भएका छन् । यद्यपि विगतमा नियमित काम हुन नसकेकोले ढुक्क भइहाल्ने अवस्था नरहेको स्थानीयहरूको भनाइ छ ।
सम्झौता अवधि सकिएर पटकपटक म्याद थप्दा समेत भवन नठडिएकोले चाडो काम सम्पन्न गरिदिन पालिका र निर्माण व्यवसायीसंग स्थानीयले अनुरोध गरेका छन् ।
दार्चुलाका नौँ स्थानीय तहमध्ये महाकाली नगरपालिकामा जिल्ला अस्पताल र शैल्यशिखर नगरपालिकामा गोकुलेश्वर अस्पताल छ । आधारभूत अस्पताल निर्माण भइरहेका सात गाउँपालिकामध्ये नौगाड र मालिकार्जुनमा भवन उद्घाटन भइ सेवा सुरू भइसकेका छन् । मार्मा, अपिहिमाल र व्याँसमा समेत भवन निर्माणाधीन अवस्थामा छन् । अलपत्र परेका दुहुँ र लेकममा बल्ल अस्पताल निर्माणको काम थालिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया