दार्चुला । कम्पनी र सहकारीबीचको कारोबारमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै आएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण भेटिएको छ ।
सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले हिजो लामिछानेलाई १५ दिन थप थुनामा राख्न अनुमती दिएको छ ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछाने विरुद्ध संसद्मा निरन्तर आवाज उठेपछि बनेको विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू जीबी राई, कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछानेलाई ‘प्रचलित कानुनअनुसार कारबाही गर्न’ नेपाल सरकारलाई लेखी पठाएको थियो ।
संसदीय समितिको सिफारिसका आधारमा प्रहरीले कात्तिक २ मा लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर पोखरा लगेको थियो । त्यसअघि र पछि प्रहरीले प्राप्त गरेका प्रमाणले सहकारीसँगको कारोबार र ठगीमा लामिछानेको प्रत्यक्ष संलग्नता पुष्टि गरेका छन ।
प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणअनुसार गोर्खा मिडिया नेटवर्कले पाँच सहकारीबाट ६७ करोड ७६ लाख लिएको र त्यसको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख ८६ हजार ३ सय ४ रुपैयाँ लामिछाने आफैंले चेक काटेर भुक्तान गरेको भेटिएको छ । यसका लागि उनले विभिन्न मितिमा काटेका करिब तीन दर्जन चेक प्रहरीले बरामद गरेको छ ।
कान्तिपुर
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया