दार्चुला । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ ।
दार्चुलाको लेकम गाउँपालिकामा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि अभियानको उद्घाटन गरिएको छ । उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, पूर्व गाउँपालिका अध्यक्ष परमानन्द जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीसहित विषयगत शाखा प्रमुख, जनप्रतिनिधि, कर्मचारी, महिला, समाजसेवी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । अधिकृत छैटौं शेखर ओझाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्यसहित विषयमाथि लेखा अधिकृत ममता बिष्टले प्रकाश पार्नुभएको थियो । दार्चुलाका सबै स्थानीय तहमा अभियान अन्तरगत विभिन्न कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमका सबै वक्ताहरूले लैंगिक हिंसा अन्त्यका लागि सबैले ऐक्यबद्धता जनाउनुपर्ने धारण राखेका थिए ।
नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।
अभियानका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै कसैले पनि हिंसा, अपमान र विभेद महसूस गर्न नपरोस् भनी शुभकामना दिनुभएको छ । यस अभियानले हामी सबैलाई सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास प्रधानमन्त्री ओलीको भनाइ छ । यस्तै अभियानको अवसरमा दार्चुलासहित देशैभर अन्तरक्रिया, छलफल,र्याली लगायतका कार्यक्रम भइरहेका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया