टिंकर सडकलाई छुट्टै आयोजना बनाएर बजेट थप्दै पाँच वर्षमा ट्रयाक खोल्ने प्रतिबद्धता

दार्चुला । महाकाली करिडोर अन्तरगत निर्माणाधीन दार्चुला-टिंकर सडकको रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल नेतृत्वको टोलीले निरीक्षण अवलोकन गरेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आएको टोलीमा मन्त्रीद्वयसंगै नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल, मन्त्रालयका सचिव, सांसद समेत रहेकाे प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो। सामरिक महत्त्वको टिंकर सडक निर्माणमा लक्ष्य अनुसार प्रगति हुन नसकेको गुनासो बढेको बेला मन्त्री नेतृत्वको टोली बुधबार निरीक्षण गरि फर्किएको हो ।

दार्चुलाका प्रजिअ जोशीका अनुसार टिकंर सडक निरीक्षणपछि अहिले महाकाली करिडोर अन्तरगत रहेकोमा दार्चुला-टिंकर सडकलाई छुट्टै आयोजना बनाएर आवश्यकता अनुसार थप बजेट विनियोजन गरि पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने निर्णय भएको छ । अहिले सडकको ट्रयाक खोल्ने कामलाई निरन्तरता दिने निर्णय भएको छ, उहाँले भन्नुभयो, चिसो घटेपछि चैत-वैशाखदेखि छाङरू-टिंकरमा समेत मेसिन प्रयोग गरेर दुबैतर्फबाट सडक निर्माण गर्ने तयारी छ । आवश्यक बजेट व्यवस्थापन गरेर अबको पाँच वर्षमा टिंकरसम्म सडकको ट्रयाक निर्माण गरिसक्ने मन्त्रीद्वयले प्रतिबद्धता जनाउनुभएको छ ।

टिंकर सडक आयोजनाका लागि चालू आर्थिक वर्षमा सरकारले नाै करोड रूपियाँ बजेट मात्रै विनियोजन गरेको छ। उक्त रकमले १.८ किलाेमिटर नयाँ ट्रयाक खोल्ने र १.२ किलाेमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताउनुभयो । थोरै बजेट भएकाले चाहेर पनि धेरै काम गर्न नसकिएको उहाँको भनाइ छ । हाल यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म ४२५ किलाेमिटर छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्ड तुसरपानी-टिंकरमा ७९ किलोमिटर सडकको काम नेपाली सेनालाई दिइएको छ । यही गतिमा सडक बनाउने हो भने निर्माण सम्पन्न गर्न वर्षौँ लाग्छ,’ उहाँले भन्नुभयो, निर्माण कार्य छिटो सक्न प्रर्याप्त बजेट र उपकरण बढाउनुपर्छ। त्यो हुन सकेको छैन। प्रर्याप्त बजेट भए तोकिएकै समयमा काम सक्न समस्या नहुने उहाँको भनाइ छ ।

सरकारले निर्माणको जिम्मेवारी दिएपछि नेपाली सेनाले २०७७ माघ २८ गतेबाट दार्चुला-टिंकर सडक निर्माण थालनी गरेको हो। सेनाले तुसारपानी-टिंकरको ट्रयाक खोल्नुपर्ने ७९ किलोमिटर भएपनी हालसम्म १३.५९ किलोमिटर ट्रयाक मात्रै खुलाइएको छ । हरेक वर्ष सडक निरीक्षणका क्रममा बजेट तथा जनशक्ति र उपकरण थप गर्ने प्रतिबद्धता जनाएपनि सरकारले बजेटमा टिंकर सडकलाई प्राथमिकतामा नराखेको स्थानीय मदनसिंह कुवँरले बताउनुभयो । अहिलेकै गतिमा काम गर्दा दशकौं लाग्ने भएकोले टिंकर सडकमा प्रयाप्त बजेट थपेर प्राथमिकताका साथ निर्माण कार्य गर्नुपर्ने स्थानीयको माग छ ।

यो सडक नबन्दा सर्वसाधारणले सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाँगरू, टिंकरलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। अहिले पनि टिंकरका स्थानीय भारतीय बाटो हुँदै खलंगा बसाइँ सरेका छन्। नेपालतिर हिँड्नलाई समेत राम्रो घोरेटो बाटो नरहेको व्याँस गाउँपालिका-१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?