दार्चुला । सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । सुदूरपश्चिमसँग हारे पनि कर्णालीले नेट रन रेटमा काठमाण्डौ गुर्खाजलाई पछि पार्दै प्लेअफमा पुगेको हो । काठमाण्डौ भने लिग चरणबाट बाहिरिएको छ ।
कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए । यस्तै ईशान पाण्डे ३८ रनमा नटआउट रहे । कर्णालीका कप्तान सोमपाल कामी र विपिन शर्माले १र१ विकेट लिए । कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र भेट्याएको भए काठमाण्डौ प्लेअफमा पुग्ने समीकरण बनेको थियो ।
योसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ । यसअघि जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् ।
अब पर्सि बुधवार इलिमिनेटरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली खेल्दैछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । पर्सि नै दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच खेल हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।