दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सञ्चालन भएको प्रथम गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीको टिम विजयी भएको छ ।
लेकम गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार खेलाडीहरुको प्रतिस्पर्धात्मक खेल क्षमता विकास गर्ने उद्धेश्यका साथ आइतवार बाट गाउँपालिकाको वडा नम्बर ३ स्थित कृष्ण माध्यमिक विद्यालय लालीको खेल मैदानमा सञ्चालन भएको खेल आज सम्पन्न भएको हो । फाइनल खेलमा वडा नम्बर ३ लाली लाई पराजित गर्दै वडा नम्बर १ सर्मोली प्रथम भएको हो । त्यस्तै लेकम गाउँपालिका वडा नम्बर २ कुणीले तृतीय स्थान हात पारेको छ ।
गाउँपालिकाका छ वटै वडाबाट एक/एक टिम गरि ६ वटा टिमको सहभागीता रहेको प्रतियोगितामा आज सेमिफाइनल र फाइनल खेल सञ्चालन गरिएको थियो ।
समापन समारोहमा गाउँपालिका अध्यक्ष राम दत्त जोशी उपाध्यक्ष माधवी जोशी विभिन्न वडाका वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राम दत्त जोशीले खेलकुद क्षेत्रको विकास र खेलाडी पहिचानका लागी प्रतियोगीता महत्वपुर्ण रहेको बताउनुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष माधवी जोशीले खेल सफलतापुर्वका सम्पन्न गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
थुप्रै समस्याहरु भइरहदा पनि खेलाडीहरुले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै उहाँले अगामी दिनमा खेलकुद क्षेत्रको विकासका लागी सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।