दार्चुला । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले पत्रकार सम्मेलनमार्फत प्रश्नैप्रश्न तेर्स्याएका छन् ।
पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै रावलले प्रश्न गरेका हुन् । नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका कयौं प्रश्न र आरोप रावलले ओलीलाई गरेका छन् । आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन् ।
राजधानीमा एक पत्रकार सम्मेलन गरी रावलले नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नु परेको निष्कर्ष सार्वजनिक गरेका हुन् । मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकता गर्नुपर्छ,’ रावलले भनेका छन् । राष्ट्रिय अभियान हुँदै वैकल्पिक पार्टी निर्माण गर्दा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीतिलाई ध्यान दिइने छ । ‘देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्नेछन’, रावलले भनेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया