दार्चुला । महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडक अन्तरगत किम्तडी भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । सडक निर्माणका क्रममा छ दिन देखि अवरुद्ध भएको सडक खुलाएर शनिवार गाडी पास गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।
दार्चुला सदरमुकाम खलंगा नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीस्थित ठड्याकाठा भिरमा सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भोग्नुपरेको थियो । सडक कटानका क्रममा खसेको पहिरो पन्छाएर शनिबार (आज) देखि आवतजावत खुल्ला गरिएको हो । उक्त क्षेत्रमा बाँकी काम आइतबारदेखि जारी रहने निर्माण प्रतिनिधि सुरेन्द्र बमले बताउनुभयो । आज सडक खुलाएर यातायातका साधनहरु पास भएका छन, उहाँले भन्नुभयो, आज आराम गरेर भोलि देखि निर्माण कार्य अगाडी बढाउछौँ । निर्माणको क्रममा केही समय अवरोध भएपनि अब लामो समय सडक अवरुद्ध नहुने उहाँको भनाई छ ।
पुस १५ देखि जिल्लाको मुख्य राजमार्ग नै अवरुद्ध भएपछि यात्रुहरू भीर चढेर पैदल हिड्न बाध्य भएका थिए । मुख्य राजमार्ग नै अवरुद्ध हुँदा विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई हिडडुल गर्न झनै समस्या भइरहेको थियो । सडक अवरुद्ध भएकै कारण शुक्रबार महेन्द्र नमूना मावि खलंगाले एक दिन विद्यालय बन्द गरेको थियो । मालवाहक सवारी किम्तडी र खलंगामा रोकिएका थिए । खलंगाबाट महेन्द्रनगर, धनगढी, काठमाण्डौंका लागि छुट्ने लामो दुरीका बस तथा छोटी दुरीमा चल्ने जीपहरु किम्तडीसम्म मात्र चल्ने गरेका थिए । केही बसहरु खलंगामै थुनिएका थिए । शनिबार दिउँसो सडक खुलेसंगै आवतजावत गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




