दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौँ बिच खाद्यान्न आपूर्ति व्यवस्थापनको लागी सम्झौता भएको छ । गाउँपालिकामा सहज, सुलभ र नियमित रूपमा खाद्यान्न उपलब्ध गराउने उदेश्य सहित गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच सम्झौता भएको हो ।
गाउँपालिकामा सहज, सुलभ र नियमित रुपमा खाद्यान आपुर्तिको लागी बुधबार गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले समझदारी पत्रका हस्ताक्षर गर्नुभयो । गाउँपालिका र कम्पनी बिच दुर्गम क्षेत्रका जनतालाई सहज÷सुलभ र नियमित रूपमा खाद्यान्न उपलब्ध गराउन नौगाड गाउँपालिकामा नेपाल खाद्यको बिक्री तथा खरिद कक्ष स्थापना गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले जानकारी दिनुभयो । त्यस्तै खाद्यान्नको सङ्कलन, मौजदात व्यवस्थापन, ढुवानी, बिक्री तथा बजारीकरण प्रभावकारी बनाउन सहकार्य गर्ने, स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको सङ्कलन, बजारीकरण र बिक्रीको सुनिश्चितताका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहकार्य तथा सहजीकरण गर्ने सम्झौता भएको उहाँले बताउनुभयो ।
गाउँपालिका र कम्पनीबिच भएको सम्झौतामा खाद्यान्नको ढुवानी र दैनिक बिक्री व्यवस्थापन, गाउँपालिकामा स्थापना हुने कार्यालयमा जनशक्ति व्यवस्थापन तथा कम्प्युटर बिलिङ प्रणाली सञ्चालनकोे कम्पनी स्वयमले गर्ने गरि सम्झौता भएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।
त्यस्तै स्थानीय तहले संकलन गरेका रैथाने बालीहरूको खरिद र बजारीकरणको काम तथा नेपाल खाद्यको बिक्री तथा खरिद कक्षमा आवश्यक पर्ने खाद्यान्नको नियमित आपूर्तिको सुनिश्चितता पनि कम्पनीले नै गर्ने सम्झौता भएको छ। त्यस्तै गरि गोदाम, विद्युत र बिक्री कक्षको व्यवस्थापन, स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको सङ्कलन, खाद्यान्न मौजदात व्यवस्थापनको अनुगमन र निगरानी गाउँपालिकाले गर्ने गरि सम्झौता भएको अध्यक्ष धामीले बताउनुभयो ।
त्यस्तै गाउँपालिकाले स्थानीय कृषक र उत्पादकहरूलाई प्रोत्साहन अनुदान तथा आवश्यक तालिमको व्यवस्था र विद्यालय दिवा खाजा सञ्चालनमा सहजीकरण गर्ने गरि सम्झौता भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया