व्याँसको बाटो बनाउन पूर्वमन्त्री ठगुन्ना सक्रिय, बजेट निकासा हुँदै, निर्माणस्थलमा निगरानी गरिने

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरू र टिंकर जोड्ने पैदल बाटो केही महिना भित्रै निर्माण सम्पन्न गर्ने योजनाका साथ पहल भइरहेको पूर्वमन्त्री एवं नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले जानकारी दिनुभएको छ । व्याँस जोड्ने पैदल बाटो नभएर बर्षौदेखि व्याँसबासी भारतीय भूमिको प्रयोग गरेर जिल्ला सदरमुकाम खलंगा आवतजावत गरिरहेकाले कुञ्चा व्याँस जानुभन्दा पहिले नै नेपालतर्फको पैदलबाटो खोल्ने गरि प्रयास भइरहेको उहाँले बताउनुभयो । केन्द्र सरकारको आर्थिक सहयोग तथा व्याँस गाउँपालिकाको व्यवस्थापनमा पैदलबाटो निर्माण गरी सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।

प्रधानमन्त्री र अर्थमन्त्रीले ५ करोड बजेट तत्काल उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको छ, उहाँले भन्नुभयो, केही दिनभित्रै अर्थ मन्त्रालयबाट व्याँस गाउँपालिकालाई व्याँसको वडा नम्बर १ जोड्ने पैदल बाटो निर्माणका लागि ५ करोड रुपैयाँ बजेट निकासा हुन्छ । सरकारको बजेट दिने प्रतिबद्धतापछि म आफै पनि व्याँस क्षेत्र पुगेर फर्किएको छु, पूर्वमन्त्री एवं एमाले दार्चुला इन्चार्ज ठगुन्नाले भन्नुभयो, भूगोलको अवस्थाअनुसार ठाउँठाउँमा एकसाथ बाटो निर्माणको कार्य थालेर बैशाख अघि नै बाटो खोल्न सक्नुपर्छ । हामीले अनुरोध गरेपछि पैदलबाटो खुलाउन प्रधानमन्त्रीज्यूले चाँसो लिनुभएको छ, व्याँसक्षेत्र जोड्ने यो बाटो सञ्चालनमा आएपछि स्थानीय वासिन्दाका साथै पर्यटक र कैलाश–मानसरोवर जाने यात्रुहरुलाई समेत सुविधा हुने उहाँको भनाइ छ ।

बाटो निर्माणका लागि जिल्ला र गाउँपालिकास्तरका सबै सरोकारवालाहरुसंग छलफल गरेर अभियान नै सञ्चालन गर्ने उहाँले बताउनुभयो । यसअघि भएको बजेट खर्च र बाटो निर्माणको अवस्थाबाट पाठ सिकेर विगतको जस्तो कमजोरी हुन नदिन बाटो निर्माण कार्यमा प्रतक्ष निगरानी गरने नेता ठगुन्नाको भनाइ छ ।
बाटो निर्माण कार्यमा स्थानीय र कार्यकर्ताहरूलाई समेत सहभागी गराएर बजेट दुरुपयोग हुन नदिने ठगुन्नाको दाबी छ । म आफैपनि बाटो निर्माणमा केही दिन सहभागी हुन्छु, उहाँले भन्नुभयो, बाटोको निगरानी गर्न पत्रकार र नागरिक समाजको पनि सकारात्मक भूमिकाको अपेक्षा गरेका छौँ । छिटो बाटो खुलाउन समय उपलब्ध भएका देशभक्त नागरिकलाई श्रमदानका लागि आव्हान गर्ने उहाँको भनाइ छ ।  कडा  चट्टानी भूभागमा बाटो निर्माणका लागि नेपाली सेना, जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायसंग समन्वय गरेर समस्या समाधान गरिने र यसपटक व्याँस जोड्ने बाटो खुलाएरै छोड्ने नेता ठगुन्नाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

व्याँसको टिंकर जोड्ने सडक निर्माणकार्य समेत छिटो गर्न नेपाली सेना र सरकारलाई आग्रह गरिएको र सडक निर्माणमा समेत सबैको सकारात्मक दबाब आवश्यक रहेको उहाँको भनाइ छ । तत्कालका लागि बाटो खुलाउने र सडक निर्माण समेत निरन्तर प्राथमिकताका साथ गर्न सरकारलाई आग्रह गरिने उहाँले बताउनुभयो ।

व्याँस जोड्ने बाटो र सडक तिब्र गतिमा निर्माण गर्न नेता ठगुन्नाको नेतृत्वमा व्याँसका जनप्रतिनिधि, स्थानीय र राजनीतिक दलका नेता कार्यकर्ताहरूले पटकपटक प्रधानमन्त्री र मन्त्रीहरूलाई लिखित र मौखिक रूपमा आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?