दार्चुला । पञ्चाङ्गकारतर्फ शुभ पञ्चाङ्गका संस्थापक ज्यो. दामोदर ॲठोला जोशीलाई सम्मान गरिएको छ । नेपाल ज्योतिष परिषदको २७औं वार्षिकोत्सव समारोहमा उहाँलाई ज्योतिषीमा गरेको योगदानको कदर गर्दै सम्मानपत्रद्वारा सम्मानित गरिएको हो ।
बुधबार काठमाडौंमा सम्पन्न नेपाल ज्योतिष परिषदको २७औं वार्षिकोत्सव समारोहमा ज्यो. ॲठोला जोशीलाई पशुपतिनाथ मन्दिरका मूल भट्ट रावल गणेश भट्टले दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्नुभएको हो । वि.सं. २००८ साल भाद्र ३० गते दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली (साविक रिठाचौपता गाविस–९) मा जन्मिएका जोशीको बसोबास हाल कञ्चनपुरमा पनि छ।
पिता अन्तराम जोशी र माता गोमती जोशीका जेष्ठ सन्तानका रुपमा मौखोली लेकाईजर अँठोला परिवारमा जन्मेका जोशीको सानै उमेरदेखि ज्योतिषप्रति अभिरुचि थियो । आफू हजुुरबुवा गुणराज जोशी र पिता अन्तराम जोशीको लगाव तथा पारिवारिक ज्योतिष वातावरणले आफू ज्योतिष बनेको उहाँले बताउनुभयो । प्रारम्भमा ज्योतिषी गुरु पिता अन्तराम नै हुनुभयो, उहाँले भन्नुभयो, पछि १४ वर्षको उमेरबाट जेठा बुवा कालुप्रसाद जोशीले ज्योतिषी क्षेत्रमा अघि बढ्न ज्योतिषी विद्मामा विशेष गरेर खण्डखाद्रीक सिद्धान्तवाट पन्चाङ्ग निर्माण तथा चिना बनाउने गणितिय विधि सिकाएर ठूलो योगदान गर्नुभएको थियो । त्यस्तै हजूरबाबा गुणराज जोशीले पनि ज्योतीषी विधामा तथा संस्कृतमा शिक्षा प्रदान गरेकाे उहाँले बताउनुभयो । १४ वर्षको उमेरमा गाँउको स्कुलबाट नै प्रारम्भिक शिक्षा हासिल गरेका उहाँले जीवनको अधिकांश समय ज्योतिषी विधामा खर्चिनुभयो । १४ वर्षको उमेरबाट नै अँठोला पन्चाङ्ग निर्माणमा सहयोग गर्दै आएका उहाँले सुरुवातमा अँठोला दार्चुला जिल्लामा स्थानीय स्तरमा उत्पादन गरिने नेपाली कागजमा स्थानीय मसी प्रयोग गरेर लेख्ने क्रम सुरु भएको बताउनुभयो । अँठोला पात्रो दार्चला र वैतडी जिल्लाको सबैभन्दा पहिलो ज्योतिषी पन्चाङ्गको रुपमा प्रकाशित हुने गरेको उहाँले बताउनुभयो ।
पछि आएर वि.स. २०३८ सालमा हजरबूवा ज्यो. स्व.जनकराज जोशीको विशेष पहलमा तत्कालिन श्री ५ को सरकार सस्कृति मन्त्रालय अन्तर्गत ज्यो. प्रा. मंगलराज जोशीको अघ्यक्षतामा रहेको पन्चाङ्ग निर्णायक समितिवाट स्वीकृति लिएर सुदूरपश्चिमको पहिलो पन्चाङ्गको रुपमा अँठोला पात्रो प्रकाशित हुन थाल्यो । यसमा हजुरबुवा जनकराजको सहयोगिको रुपमा काम गर्दै आएका उहाँले वि.स. २०६४ सालदेखि पन्चाङ्ग निर्णायक समितिमा जनकराज जोशीको प्रतिनिधिको रुपमा पन्चाङ्गको सम्पूर्ण निर्माणको काम जिम्मा लिएको बताउनुभयो । वि.सं.२०६६ सालमा पन्चाङ्ग निर्णायक समिति सदस्य तथा पन्चाङ्गकारको हैसियतमा काम गर्दै पन्चाङ्ग प्रकाशन गर्दै आएको उहाँले बताउनुभयो । उहाँ २०७२ सालबाट शुभ पन्चाङ्गको पन्चाङ्गकार तथा संस्थापक हुनुहुन्छ । उहाँले २०६६ सालमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिषी सम्मेलन तथा विभिन्न ज्योतिषी सभा, सम्मेलन गोष्ठीमा भाग लिइसक्नुभएको उहाँका छोरा अँठोला माधवराज जोशीले बताउनुभयो ।
नेपाल र भारतका विभिन्न शहर तथा घार्मिक स्थलको भ्रमण गरेका ज्यो. जोशी अँठोला ज्योतिषीको रुपमा परिचित हुनुहुन्छ । ज्योतिषीसंगै कञ्चनपुरमा अँठोला इम्पेक्स तथा अँठोला ट्रेडर्स एण्ड सप्लार्यसका सस्थापक समेत रहनुभएका उहाँको साधना, तपस्या र ज्योतीष शास्त्रमा विशेष रुचि रहेको छ । ज्योतिष ज्ञान विना जीवन अपूर्ण हुने कुरामा विश्वास राख्ने जोशीले अरुलाई यसबारे थोरै भए पनि ज्ञान राख्नु पर्ने सल्लाह दिनुहुन्छ । उमेरले सात दशक पार गरेका अँठोला ज्योतिष दामोदर जोशी अहिलेपनि ज्योतिषी कर्ममा सक्रिय हुनुहुन्छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।