दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षा शाखा, विव्यस, शिक्षक अभिभावक संघ, शिक्षक, अभिभावक र विद्यार्थी सम्मिलित भेला तथा अन्तरक्रिया कार्यक्रम धारीपाटा माध्यमिक विद्यालय धारीमा सम्पन्न भएको छ ।
सोमबार (आज) आयोजना गरिएको भेलामा एक सय जना भन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो । भेलामा शैक्षिक गुणस्तर सुधार गरि पालिका स्तरीय परीक्षा र माध्यमिक शिक्षा परीक्षामा राम्रो नतिजा ल्याउन गर्नुपर्ने प्रयासहरुबारे छलफल गरि सामुहिक प्रतिबद्धता गरिएको छ । सामुहिक प्रतिबद्धता र जिम्मेवारी बाँडफाँड अनुसारको कार्य गरे नतिजामा सुधार आउने अपेक्षा गरिएको छ ।
मावि धारीका शिक्षक अभिभावक संघ अध्यक्ष पदम बहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा दुहुँ गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बम प्रमुख अतिथि रहनुभएको थियो भने वडा नम्बर ४ का वडा सचिव गणेश दत्त जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा अभिभावकले विद्यार्थीहरुलाई नियमितरूपमा विद्यालय पठाउनु पर्ने, अनुपस्थित विद्यार्थी बारे जानकारी गराउने, विद्यार्थीलाई मोबाइल पूर्णरूपमा प्रतिबन्ध गराउने, गृहकार्य नियमित दिने र चेकजाँच गर्ने तथा अनुगमनलाई प्रभावकारी बनाउने सामुहिक प्रतिबद्धता गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया