दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ ।
गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बुधवार आज बैठक सम्पन्न भएको शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो । बैठकमा गाउँपालिाभित्रका २१ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरु र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बैठकमा चालू शैक्षिकसत्रमा विद्यालयले सिकाइ उपलब्धि अभिवृद्धि गर्न तथा नतिजा सुधार गर्न थालिएका प्रयासहरुबारे छलफल गरिएको छ । त्यस्तै कक्षा ८ का विद्यार्थीहरुको परीक्षा फाराम फागुन ७ गतेभित्र भरि शिक्षा शाखामा पेश गर्ने, शैक्षिकसत्र २०८१ को पालिकास्तरीय बार्षिक परीक्षा चैत ३ गतेदेखि चैत १२ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको संयोजक बमले बताउनुभयो ।
दुहुँ गाउँपालिका कार्यपालिकाको चैत्र २६ गते बसेको बैठकले शिक्षकहरुलाई मासिकरुपमा तलब भत्ता भुक्तानी दिने निर्णय गरेकाले हरेक महिनाको २ गते पालिकामा शिक्षकको हाजिर प्रमाणित गरि तलब माग फाराम पेश गर्ने निर्णय भएको शाखा प्रमुख बमले बताउनुभएको छ ।
बैठकमा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिह बडालले विद्यालयहरुमा भइरहेको प्रयासहरुबाट आफू उत्साहित भएको बताउदै शिक्षकहरुलाई नतिजामा सुधार हुने गरि काम गर्न निर्देशन दिनुभएको छ । बैठकले सबै विद्यालयहरुमा फागुन १० गतेसम्म अभिभावक भेला आयोजना गर्ने लगायतका निर्णय गरेको शाखा प्रमुख बमले बताउनुभएको छ ।





प्रतिक्रिया