दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिती , शिक्षक अभिभावक संघ शिक्षक, अभिभावक र विद्यार्थी सम्मिलित अन्तरक्रिया कार्यक्रम गणेश माध्यमिक विद्यालय सिमलीमा सम्पन्न भएको छ ।
कार्यक्रममा एक दर्जन अभिभावक र विद्यार्थीहरुले सुझाव तथा प्रतिक्रिया राखेका थिए । कार्यक्रममा वडा नम्बर ३ का जनप्रतिनिधि र अभिभावकहरुको उपस्थिति रहेको थियोे । अभिभावकहरुले विद्यार्थीहरुको गृहकार्य र कक्षाकार्य राम्ररी चेकजाँच गरिदिन अनुरोध सहित आवश्यक सुझाव दिनुभएको छ ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक मोहन चन्दले विद्यालयको वर्तमान अवस्था र नतिजा सुधारका लागि विद्यालयले चालू शैक्षिकसत्रमा सञ्चालन गरेका प्रयासहरुबारे जानकारी गराउनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बल्लभ जोशीको अध्यक्षतामा रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिह बडालको प्रमुख आतिथ्यता रहेको थियो ।
अन्तरक्रिया लाई सम्बोधन गर्दै प्रमुख अतिथि दुहँु गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिह बडालले निर्वाचित भएपछि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी कक्षा १० सम्मको शिक्षा पुर्णरुपमा निशुल्क गरेको, बिषयगत र कम्प्युटर शिक्षकको व्यवस्था गरेको र पालिकास्तरीय परीक्षा सञ्चालन गरि सिकाइमा सुधार गर्ने नीति ल्याएको जानकारी गराउनु भएको छ ।
कार्यक्रममा अभिभावकले विद्यार्थीहरुलाई नियमितरूपमा विद्यालय पठाउनु पर्ने, अनुपस्थित विद्यार्थी बारे जानकारी गराउने, विद्यार्थीलाई मोबाइल पूर्णरूपमा प्रतिबन्ध गराउने, गृहकार्य नियमित दिने र चेकजाँच गर्ने, विद्यालय अनुगमनलाई प्रभावकारी बनाउने र नतिजा सुधारका लागि फागुनको महिनाभरि कोर्स रिभिजन तथा नमूना प्रश्नपत्र हल गराउने सामुहिक प्रतिबद्धता गरिएको छ ।
यस शैक्षिक शत्रमा विद्यालयहरुले शैक्षिकसत्रको सुरुवात बाटै कार्ययोजना बनाई शिक्षण कार्य गरेकाले नतिजामा सुधार हुने अपेक्षा गरिएको छ । साथै आजै दुहु गाउँपालिका वडा नम्बर २ मा रहेको भूमिराज आधारभूत विद्यालय कम्दा र वडा नम्बर २ मै अवस्थित दहधार आधारभूत विद्यालय गुनामा समेत शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया तथा अभिभावक भेला सम्पन्न गरिएको दुहुँ गाउँपालिका शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो ।





प्रतिक्रिया