दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लटिनाथ माध्यमिक विद्यालय चौपातामा लागूऔषध नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वय तथा सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको विद्यालयका सहायक प्रध्यानाध्यापक एंव कार्यक्रम सञ्चालक महेश राज जोशीले जानकारी दिनुभयो ।
लटिनाथ मावि चौपाताका विद्यालय व्यवस्थापन समिति अध्यक्ष परमानन्द जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा सशस्त्र प्रहरी बल ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका गणपति एसपी देवराज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी प्रकाश दाहाल, शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्त, सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझा, लटिनाथ मावि चौपाताका प्रधानाध्यापक केशवराज बिष्ट, रेडियो लोकदर्पणका स्टेसन म्यानेजर लोकेन्द्र प्रसाद जोशी, लेकमको वडा नम्बर ५ का सदस्यद्वय शंकरदत्त जोशी र रेवाधर जोशी, समाजसेवी, अभिभावक लगायतको आतिथ्यता रहेको थियो । शिक्षक, अभिभावक र विद्यार्थी लगायतको सहभागीता रहेको कार्यक्रममा लागूऔषध दुर्व्यवसनीको गलत प्रभावका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा डिएसपी दाहालले लागूऔषध र यसको प्रयोगका बेफाइदाबारे उदाहरणसहित सन्देशमूलक प्रस्तुति राख्नुभएको थियो । अरू सबै अतिथिहरूले लागूऔषधको प्रयोगले शारीरिक, मानसिक, आर्थिक, पारिवारिक र सामाजिक समस्या निम्त्याउने तथा अमूल्य जीवनको अकालमै अन्त्य हुने भएकोले यसको प्रयोग गर्नै नहुने सुझाव दिएका छन् ।
के हो लागूऔषध र बेफाइदा के के छन?
दुर्व्यसनमा प्रयोग गरिने औषधहरूको वर्गीकरण सामान्यतया: मादक पदार्थ, उत्तेजक पदार्थ, अवसादक पदार्थ, मनोविकारक पदार्थका रुपमा गर्न सकिन्छ। यसको विस्तृत विवरण अन्तर्राष्ट्रिय महासन्धि र देशका कानूनहरूमा पाइन्छ। अहिले लागूऔषध प्रयोगकर्ताहरूको संख्या बढिरहेको छ। डरलाग्दो पक्ष भनेको कुल प्रयोगकर्ताको ६९% सुइद्वारा औषध प्रयोग गर्छन् र यिनमा अधिकांश २५ वर्षमुनिका युवायुवतीहरू पर्छन्। प्रयोग हुने लागूऔषधहरूमा औषधिजन्य ट्यावलेट, इन्जेक्सन आदिको प्रयोग अत्यधिक भएको पाइन्छ। साथै, हिरोइन (heroin) को प्रयोगको मात्रा पनि बढ्दो छ। यसबाट स्वास्थ्य, शिक्षा, उत्पादनशीलता तथा सामाजिक संरचनामा पर्न गएको नकारात्मक प्रभावको अनुमान गर्न सकिन्छ।
राज्यका कार्यक्रमहरू विशेषत निरोधात्मक केन्द्रीत छन्। समुदायलाई जागरुक बनाउने टुक्रे कार्यक्रमहरूको बहुलता छ। यिनमा नियमितता छैन। सञ्चालन भएका कार्यक्रमहरूको नियमित अनुमगन, मूल्यांकन र त्यसबाट प्राप्त सिकाईहरूको कुनै अभिलेख छैन। हचुवाका भरमा कार्यक्रमहरूको निर्माण र सञ्चालनबाट यो विकराल समस्यामा प्रभावकारी कमी ल्याउन संभव देखिँदैन। लागु औषध दुर्व्यसन तथा लागु औषध ओसार पसारका लागि विशेषीकृत संरचना र सक्रियताको आवश्यकता हुन्छ। सरकारको पहिलो प्राथमिकता दुर्व्यसनको रोकथाम नै हुनुपर्छ। त्यसका लागि अपनाउनु पर्ने नीति तथा कार्यक्रमहरूको तर्जुमा गर्दा बिगतको अनुभव, अन्य देशको सफल प्रयोग तथा देशजन्य विशेषतालाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने हुन्छ। प्रथमतःलागु औषध दुर्व्यसनको रोकथाम, उपचार तथा पुनस्थापनका कार्यक्रम बढाउनुपर्ने आवश्यकता छ । सरकारले निजी स्तर वा गैरसरकारी संस्थाबाट सञ्चालित उपचार तथा पुनस्थापन केन्द्रहरुको मापदण्ड निर्धारण, सेवाको अनुगमन, मूल्यांकन गर्ने विशिष्टिकृत एउटा इकाईको स्थापना गर्नुपर्छ। दुर्व्यसन समस्या निर्मूल गर्न नसके पनि न्यूनीकरण गर्न सकिन्छ। यसर्थ, यस प्रयोजनका लागि सबै तप्का समुदायको सधन प्रयास जरुरी हुन्छ। यो मनोभाव सिर्जना गर्ने काम राज्यका साथै जिम्मेवार सबैको भूमिका र प्रतिवद्धता आवश्यक छ ।
लागूऔषधको सेवनले युवाशक्ति बर्बाद हुने, शारीरिक, मानसिक, आर्थिक, पारिवारिक र सामाजिक समस्या निम्त्याउने तथा अमूल्य जीवनको अकालमै अन्त्य हुने र परिवार र समाजमा हत्या, हिंसा लगायत जघन्य अपराधका घटना बढ्ने भएकोले यसको प्रयोग रोकथाममा राज्य र सरोकारवाला सबै निकाय लाग्नुपर्ने अत्यावश्यकता छ ।

यसैबीच उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय दार्चुलाले सुदूरपश्चिम प्रदेश सरकारसंग जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत चौपाता क्षेत्रका जेष्ठ नागरिक गंगादत्त जोशी र देवकी देवी बिष्टलाई सम्मान गरेको लटिनाथ मावि चौपाताका सहायक प्रधानाध्यापक मोहनदेब बिष्टले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




