दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ र २ मा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षको हालसम्म वडाहरूबाट प्रवाह भएका सेवा, सुशासनको अवस्था र विकास निर्माणका योजना कार्यक्रमबारे छलफल तथा संवाद गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीले सार्वजनिक सरोकारको विषयमा सुझाब, सल्लाह, गुनासो र प्रश्नहरू राख्नुका साथै जवाफदेहीवक्ताहरूले आवश्यक प्रतिबद्धता र जवाफ दिएका थिए ।
लेकम-१ सर्मोलीमा वडाअध्यक्ष नवराज पन्तको अध्यक्षतामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, पूर्व वडाअध्यक्ष, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, स्थानीय र कर्मचारीहरूको सहभागीता रहेको थियो । वडा सचिव माधवी बोहराले वडाको बस्तुस्थिति विवरण प्रस्तुत गरेकोमा सहभागीका प्रश्नको जवाफ वडाअध्यक्ष नवराज पन्तले दिनुभएको थियो ।
पूर्ववडाअध्यक्ष दौलतसिंह साउदले बजेट विनियोजन गर्दा टोलमै गएर बढी उपभोक्ताको माग सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो । नेकपा (एमाले) जिल्ला कमिटी सदस्य अमरसिंह कार्कीले सामुहिक तथा सार्वजनिक महत्त्वका योजना बनाउनुपर्ने, कर्मचारी व्यवस्थापन गरिनुपर्ने सुझाव दिनुभयो । स्थानीय दिपक साउदले बन बिनास रोक्नुपर्ने, विद्यालयमा घेरपर्खाल निर्माण गरिनुपर्ने, बजेट अनुसार योजना बनाउनुपर्ने सुझाव दिनुभयो । स्थानीय आनसिंह कार्कीले प्रधानमन्त्री स्वरोजगारमा कामदार छनोट गर्दा सबै टोल बस्ती समेटिनुपर्ने माग गर्नुभयो । महादेव साउदले सार्वजनिक सुनुवाईमा सहभागीता बढाउनुपर्ने, गिट्टी-बालुबा संकलनबाट राजश्व संकलन गरिनुपर्ने, कर्मचारी व्यवस्थापन, शिक्षा क्षेत्र सुधार र योजना छनोट प्रकृयामा सुधार गर्नुपर्ने सुझाव दिनुभयो । पूर्व वडासचिव रामसिंह साउदले दुई लाख भन्दा ठूला योजना बनाउनुपर्ने, टोल स्तरीय माग संकलन गरि प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्ने र सबैले रूपान्तर हुनुपर्ने आवश्यकता औल्याउनुभयो । वडीपुर माविका प्रधानाध्यापक परमानन्द बिष्टले वडाको समग्र बजेटबाट शिक्षा क्षेत्रलाई समेत सम्बोधन गरिनुपर्ने, खेलमैदान निर्माण गरिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा उठेका गुनासाको सम्बोधन र सुझाबमाथि वडाअध्यक्षबाट प्रतिबद्धता गराइएको कार्यक्रमका सहजकर्ता तथा रेडियो लोकदर्पणका स्टेसन म्यानेजर लोकेन्द्र प्रसाद जोशीले बताउनुभयो । लेकमको वडा नम्बर १ मा चालू आर्थिक वर्षमा ४० लाखका ४९ योजना विनियोजन गरेको र हालसम्म २५ वटा योजनाको सम्झौता भएको प्राविधिक लिलाधर भट्टले बताउनुभयो । लेकम-१ मा दोस्रो त्रैमासिक सम्म ६१ लाख बढी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, ३६ हजार राजश्व संकलन गरिएको, पञ्चिकरण लगायत नियमित सेवा प्रवाह भइरहेको वडा सचिव माधवी बोहराले बताउनुभयो ।
यस्तै लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा वडा अध्यक्ष शिवराज जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला वडा सदस्य दोप्रती भट्ट, नेकपा (एमाले) लेकम गाउँकमिटी सचिव पदम राज जोशी, वडा कमिटी अध्यक्ष आन सिंह धामी, नेपाली कांग्रेस लेकम गाउँसमिति उप–सभापती रघुनाथ जोशी, स्थानीय उपभोक्ता समितिका पदाधिकारी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
कार्यक्रममा (एमाले) लेकम गाउँकमिटी सचिव पदम राज जोशीले वडा कार्यालयले विद्युतिकरण, खानेपानी सञ्चालन र सामुदायिक स्वास्थ्य इकाइ स्थापनामा थप पहल गर्नुपर्ने सुझाव दिनुभयो । वडा कमिटी अध्यक्ष आन सिंह धामीले सम्झैताको चरणमा रहेका योजनाहरु चाडो सम्झैता गरेर काम सञ्चालन गरिदिन वडा कार्यालयसंग माग गर्नुभयो । त्यस्तै नेपाली कांग्रेस लेकम गाउँसमिति उप–सभापती रघुनाथ जोशीले बृहत चमेलीया कुणी लिफ्ट खानेपानी र विद्युतिकरणमा खेलेको भुमिकाको प्रसशा गर्दै थप जनमैत्री काम गर्न सुझाव सहित अनुरोध गर्नुभयो । स्थानीय जयदेव जोशीले चमेलिया नदीमा ह्युमपाईप व्यवस्थापन गरी कुणीसम्म सडक सञ्चालन गर्न सुझाव दिनुभयो । स्थानीय तुलादत्त जोशीले खानेपानी संरचनाहरु निर्माण गर्नुपर्ने, खेलकुद मैदानको व्यवस्थापन गर्नुपर्ने लगायत सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागिबाट प्राप्त सुझावमाथि वडा अध्यक्षबाट प्रतिवद्धता गराइएको सहजकर्ता दुर्गा दत्त मिश्रले जानकारी दिनुभयो । लेकमको वडा नम्बर २ मा चालू आर्थिक वर्षको हालसम्म ४० लाखका ४६ वटा योजना विनियोजन गरिएको र ५ वटा योजनाहरु सम्झैता हुन वाकीँ रहेको वडा कर्मचारी बासुदेव जोशीले जानकारी दिनुभयो।
बुधबार (भोली) लेकमको वडा नम्बर ३ लाली र वडा नम्बर ४ खरकडामा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएकाले उपस्थितिको लागि सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




