दार्चुला । नेकपा (एमाले) पाेलिटव्यूराे सदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले आज अपिहिमालको मकरीगाड-खण्डेश्वरी सडककाे स्थलगत निरीक्षण गरेको छ ।
दार्चुलाका नौँ वटा स्थानीय तहमध्ये अपिहिमालबाहेक आठ वटा स्थानीय तहको केन्द्रसम्म सडक पुगेको छ । मार्मा हुँदै मकरीगाडदेखि अपिहिमालको केन्द्र खण्डेश्वरी जोड्ने सडक अधुरै छ । उक्त सडकको अवस्था बुझ्न प्राविधिक सहित पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको एमाले प्रदेश कमिटी सचिवालय सदस्य देवसिंह महरले बताउनुभयो ।
अपिहिमाल गाउँपालिकाको मकरीगाड-खण्डेश्वरी सडकमा चालू आर्थिक वर्षमा सडकको ट्याक खोल्न झण्डै ४ करोड बजेट विनियोजन भई बाेलपत्र आह्वान गरिएको छ । नेकपा (एमाले) अपिहिमाल गाउँपालिका कमिटी नेतृत्वको टाेलीले केही समय अघि काठमाडौं पुगेर सडककाे लागि बजेट विनियोजन गराउन माग गरेको र अहिले बोलपत्र आह्वान भएपछि काम हुने आशा पलाएको एमाले जिल्ला कमिटी सदस्य शान्ति धामीले बताउनुभयो ।
सडक निरीक्षणमा पूर्वमन्त्री ठगुन्नासहित नेकपा (एमाले) का नेता कार्यकर्ताका साथै स्थानीय र सडक डिभिजन कार्यालय पाटनका इन्जिनियर दिपक भट्ट लगायतको सहभागीता रहेको थियोे । शनिबार (हिजो) मार्मामा सञ्चालन भइरहेको दार्चुला जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन समारोहमा सहभागी भएका नेता ठगुन्ना आइतबार (आज) स्थानीय नेताहरूसहित मकरीगाड-खण्डेश्वरी सडक निरीक्षणमा जानुभएको हो । सडक निरीक्षण अवलोकनका साथै समग्र विकास निर्माणको अवस्था र एमालेको तीन महिने वडा केन्द्रीत अभियानको बारेमा समेत समिक्षात्मक छलफल भएको एमाले अपिहिमाल गाउँकमिटी अध्यक्ष धर्मानन्द सिंह मन्यालले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




