दार्चुला । सुदूरपश्चिममा माओवादीको विवाद अझै टुंगो लागेको छैन् ।
माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको विवाद मिलाउन पटक पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको मौखिक तथा लिखित निर्णय कार्यान्वयन नभएपछि प्रचण्डले बुधवार (हिजो) सबै सांसदलाई खुमलटार बोलाएर छलफल गरेका छन् ।
गत वर्ष माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो । आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि प्रचण्डलाई नैतिक संकट परेको थियो ।
फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन प्रचण्ड एक घण्टाको लागि मात्रै काठमाडौँ पुगेका थिए । दिउसो ३ बजेदेखि सुरु भएको छलफल करिब २ घण्टापछि प्रचण्डले पुरानै शैलीमा निर्देशन दिएर सकिएको थियो । अभियानमा फर्किनुपर्ने भएको हुँदा बुधवार दिउसो प्रचण्ड स्वयमले संसदीय दलको समस्या र आफूले दिएको निर्देशन कार्यान्वयन नहुने अवस्थाबारे प्रसङ्ग निकालेका थिए। उहाँले ‘पार्टीको पटक पटकको निर्देशन किन कार्यान्वयन भएन ? तपाईँहरूले मेरो निर्देशन समेत किन मान्नु भएन ?’ भन्ने प्रश्न गर्नुभएको छ ।
खगराज भट्टले अध्यक्षकै कुरालाई जोड दिँदै ‘पार्टीको निर्देशन त मान्नु पर्छ नि’ भन्दै कुरा अगाडी बढाएका छन् । फागुन २० गते टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रचण्ड कैलाली आउने बताइएको छ । त्यो भन्दा अगाडि नै दलको नेतामा खगराजलाई पुनः स्थापित गर्न निर्देशन दिइएको छ । प्रचण्डले भट्टलाई दलको नेता बनाउन पटक पटक निर्देशन दिँदा पनि अझै भट्टप्रति माहौल भने बनेको छैन ।
बुधवार पनि भट्ट समूहले प्रचण्डकै अगाडी निर्णय गराउने लक्ष्य लिएको थियो तर, प्रचण्डले भने दलको विवाद दलबाटै समाधान गर्नेगरि उनीहरूलाई फर्काएका छन् । संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।
धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् । संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । यस्तो अवस्थामा केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आइरहेको छ । प्रचण्डले आफै बोलाएर २० गतेभित्रै भट्टलाई नेता बनाउन भनेपनि कुन विधिले बनाउने भन्ने विषय भने प्रदेशमा पेचिलो बन्ने देखिएको छ ।





प्रतिक्रिया