दार्चुला । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन धनगढीमा सम्पन्न भएको छ । सङ्गठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओलीको अध्यक्षता र केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा हिजो उद्घाटन भएको अधिवेशन नेतृत्व चयन गर्दै आज सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन समारोहमा प्रमुख वक्ता नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्ट रहेका थिए ।  प्रदेश अधिवेशनमा श्रमजीवी पत्रकारको पेसागत हकहित तथा सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा गहन छलफल भएको छ। यस सँगै अधिवेशनले १२ बुँदे धनगढी घोषणापत्र–२०८१ पनि जारी गरेको छ ।

यस्ता छन् घोषणा पत्रका १२ बुँदा 

१) गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेश समिति, प्रदेशका नौ वटै जिल्ला समिति र प्रदेशबाट केन्द्रीय समितिमा गठबन्धनको तर्फबाट निर्वाचित केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाहरूबाट निर्वाचनमा सहभागी हुने सबैलाई यो अधिवेशन हार्दिक आभार प्रकट गर्दछ। साथै, विजयी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछ।

२) पछिल्लो समय आम सञ्चार माध्यमहरूमा लेखेकै भरमा पत्रकारमाथि विभिन्न दबाब सिर्जना गर्ने, चरित्रहत्या गर्ने तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भइरहेका हर्कतहरू बन्द गर्न यो सम्मेलन माग गर्दछ।

३) सुदूरपश्चिमको आम सञ्चार क्षेत्र व्यवस्थापन तथा नियमनका लागि सुदूरपश्चिम सरकारलाई यथाशीघ्र कानुन निर्माण गरी सञ्चार प्रतिष्ठान गठन गर्न माग गर्दछ।

४) स्थानीय पत्रकारितालाइ गुणस्तरीय र मर्यादित बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न र मिडिया हाउसहरूको द्विगुणित विकासका लागि आवश्यक कदम चाल्न सरोकारवाला निकायसँग माग गर्दछ।

५) मिडिया क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धान गर्न चाहने सञ्चार कर्मीहरूका लागि सुदूरपश्चिम सरकारसँग छात्रवृत्तिको व्यवस्था गर्न अनुरोध गर्दछ।

६) पत्रकार महासङ्घमा शुद्धिकरणको अभियान थप सशक्त रूपमा अघि बढाउन माग गर्दछ।

७) सुदूरपश्चिमको स्थायी राजधानीको टुङ्गो लगाई पूर्वाधार निर्माणको काम थालनी गर्न अनुरोध गर्दछ।

८) कैलालीको गेटामा यथाशीघ्र मेडिकल विश्वविद्यालय स्थापना गर्न माग गर्दछ।

९) सुदूरपश्चिम प्रदेशका सरकारी तथा गैरसरकारी क्षेत्रका विज्ञापन सुदूरपश्चिमकै सञ्चार घरमार्फत प्रकाशन र प्रसारणका लागि आवश्यक वातावरण सिर्जना गर्न सरोकारवाला निकायसँग अनुरोध गर्दछ।

१०) सुदूरपश्चिममा रहेका सञ्चार माध्यमहरूमा कार्यरत श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन र उनीहरूको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछ।

११) सुदूरपश्चिम क्षेत्रमा महिला पत्रकारहरूको सङ्ख्या न्यून देखिएकाले महिला पत्रकारहरूलाई उत्प्रेरित गर्न सरोकारवाला निकायसँग माग गर्दछ।

१२) सुदूरपश्चिमका अनुहार फेर्न सक्ने आयोजना पञ्चेश्वर, पश्चिम सेती, कर्णाली चिसापानीमा अध्ययन गरिएका जलविद्युत आयोजना, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण, दैजी(छेला तथा डुडेझारी औद्योगिक क्षेत्र स्थापना, महाकाली करिडोर र सेती करिडोर जस्ता ठुला निर्माण कार्यहरूलाई अघि बढाउन सरकारसँग माग गर्दछ। घोषणापत्र लोकेश साउद (बैतडी), भोजराज जोशी (कैलाली), भानुभक्त आचार्य (कैलाली), लिली कुँवर (कञ्चनपुर) सहितको चार सदस्यीय समितिले तयार गरेको हो । अधिवेशनमा नेतृत्व चयनसंगै प्रेस चौतारीको विकास र विस्तार, पत्रकारका पेशागत हक, हित र सुरक्षाका विषयमा गहन छलफल भएको छ।

यसैबीच प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अधिवेशनबाट नरेन्द्र सिंह कार्कीको नेतृत्वमा सहमतिमै नयाँ समिति चयन गरिएको हो । खुला उपाध्यक्षमा मीन ठकुरी, महिला उपाध्यक्षमा कल्पना बोहरा, महासचिवमा भानुभक्त आचार्य, कोषाध्यक्षमा लक्ष्मण दत्त पन्त, सचिवहरुमा लोकेन्द्रबहादुर ओझा, अमरराज भटराई, दिपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा विरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह बिष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित बि.क, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउद (आलोक), बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड, धन बहादुर वि.क. र वेदप्रकाश ओली निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?