दार्चुला । बैतडीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पाँच ओटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले नयाँ नेतृत्वको पाएको छ । स्ववियु निर्वाचन भएका पाँच ओटा क्याम्पसमध्ये तीनमा अनेरास्ववियु र दुईमा नेविसंघ विजयी भएको छ ।
जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८ ओटा क्याम्पस रहेका भएपनि रौलाकेदार बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएको छैन् । पुर्चौंडी बहुमुखी क्याम्पसमा आज निर्वाचन हुँदैछ भने सिगास शिक्षा क्याम्पसमा विवाद भएको छ ।
स्ववियु निर्वाचन सम्पन्न भएका पाँच ओटा क्याम्पस मध्ये केही सहमति र केही चुनावमार्फत नयाँ नेतृत्व चयन गरिएको छ ।
पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पस कुलाउमा विद्यार्थी संगठनहरुबीच सहमतिका आधारमा अनेरास्ववियुकी सपना चन्द सर्वसम्मत सभापतिमा चयन भएकी छन् ।
सहमतीअनुसार १५ जनाको कार्यसमितिमा अनेरास्ववियुले सभापतिसहित ६ जना,नेविसंघले सचिवसहित ५ र अनेरास्ववियु क्रान्तिकारीले उपाध्यक्षसहित ४ जना लिएको क्याम्पस प्रमुख मोतीसिंह मंगोलाले जानकारी दिनुभयो।
उक्त क्याम्पसको उपाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीकी मनिषा साउँद ,सचिवमा नेपाल विद्यार्थी संघकी अस्मिता जोशी, सहसचिवमा अनेरास्ववियुकी ईश्वरी भट्ट र कोषाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीकी लक्ष्मी चन्द निर्विरोध चयन भएका छन् ।
यस्तै सदस्यमा अनेरास्ववियुकी बल्ली जोशी,इश्वरी भट्ट र मुना साउँद चयन भएका छन् । नेविसंघकी सुनिता चन्द, दिपा घटाल र अनेरास्ववियु क्रान्तिकारीकी एलीसा चन्द र जीवन घटाल पनि सदस्यमा चयन भएका छन् ।
समानुपातिक सदस्यतर्फ अनेरास्ववियुकी रमना चन्द र दिपा साउँद, नेविसंघकी प्रियंका मंगोला र गीता सार्की चयन भएका छन् । यहाँ ३०१ जना विद्यार्थी मतदाता रहेका थिए ।
दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका नवीन कपाडी स्ववियु सभापतिमा निर्वाचित भएका छन् । यहाँ अखिल क्रान्तिकारी एक्लै चुनावी मैदानमा उत्रेको थियो ।
अनेरास्ववियुका कपाडी एक सय मत ल्याएर सभापतिमा निर्वाचित हुनुभएको छ, भने उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सुरेन्द्र कार्कीले ५५ मत प्राप्त गरेको निर्वाचन संयोजक नरेन्द्रप्रसाद पन्तले बताउनुभयो ।सचिवमा अनेरास्ववियुकै नारायणप्रसाद अवस्थीले १ सय ५ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी तुलसी जोशीले ४६ मत प्राप्त गर्नुभयो ।
कोषाध्यक्षमा नेविसंघका लक्ष्मी भट्ट एक सय मत प्राप्त गरेर विजयी हुँदा, अखिल क्रान्तिकारीका हेमन्ती जोशीले ४७ मत प्राप्त गर्नुभएको छ। सदस्यहरुमा अनेरास्ववियुका यज्ञराज अवस्थीले १ सय ५,रेखा कार्की १ सय ७,जयन्ती विष्ट १ सय ७, नेविसंघका मनिषा विष्टले १ सय ४ र भागरथी जोशीले १ सय २ मत ल्याएर विजयी हुनुभएको छ।
२ सय ५९ जना विद्यार्थी मतदाता रहेको यो क्याम्पसमा १ सय ६५ मत खसेकोमा ८ मत बदर भएका निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै शिवनाथ गाउँपालिकामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा भने नेविसंघको पुरै प्यानल विजयी भएको छ ।
नेविसंघबाट सभापति उम्मेदवार बनेका कविता साउँद नेतृत्वको पूरै प्यानल विजयी भएको ग्राम प्रकाश बहुमुखी क्याम्पसका प्रमुख महामलसिंह साउँदले बताउनुभयो ।
सभापतिमा विजयी साउँदले ३७ मत प्राप्त गर्दा अनेरास्ववियूबाट सभापतिका उम्मेदवार बनेका सरिता साउँदले २८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेविसंघबाटै सचिवमा विजयी अस्मिता महरले ३५ मत प्राप्त गर्दा अनेरास्ववियुका विरेन्द्र साउँदले ३० मत प्राप्त गर्नुभएको छ।
कोषाध्यक्षमा पनि नेविसंघकै रतना साउँद ३५ मत ल्याएर विजयी हुनुभएको छ, भने प्रतिस्पर्धी अनेरास्ववियुकका कल्पना पार्कीले ३० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
यस्तै सदस्यहरुमा पनि नेविसंघकै बाटिका साउँदले ३५,हिमा कलौनीले ३६, रुमला साउँदले ३८ मत प्राप्त परेर विजय हासिल गरेका छन् । यसैबीच समानुपातिकतर्फ नेविसंघले ३३ मत ल्याउँदा अनेरास्ववियु ले२२ मत प्राप्त गरेको छ । ९५ जना मतदाता विद्यार्थी रहेको यस क्याम्पसमा ६६ मत खसेकोमा १ मत बदर भएको थियो ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ गोकुलेश्वरमा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका कृष्णसिंह रावल विजयी हुनुभएको छ।
सभापतिमा विजयी रावलले १ सय ३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका रमेश मालले ८९ मत प्राप्त गर्नुभएको छ।
सेटिगाउँमा नेविसंघ र अखिल क्रान्तिकारीले चुनावी तालमेल गरेका थिए, भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रेको थियो ।
त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका कुमार लावड १ सय ८ मत ल्याएर विजयी हुनुभएको छ, भने उहाँका प्रतिस्पर्धी अनेरास्ववियुकी पूजा खत्रीले ८९ प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
कोषाध्यक्षमा क्रान्तिकारीकै भुवन भण्डारी १ सय १ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुकी भावना जोशीले ८८ मत प्राप्त गर्नुभएको छ।
सदस्यहरुमा नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवार आरती बिष्ट ९८, उषा साउद एक सय , सन्तोषी खडायत १ सय ८ र हिरा गोयला १ सय ३ मत ल्याएर विजयी हुनुभएको छ।
उक्त क्याम्पसमा सदस्य पदमा अनेरास्ववियुकी सन्तोषी बिष्ट ९१ मत ल्याएर विजयी हुनुभएको छ।
यस्तै दशरथचन्द नगरपालिकामा रहेको शिक्षा क्याम्पस शाहीलेकको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्बर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ। यो क्याम्पसमा अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनको उम्मेदवारी नपरेपछि अनेरास्ववियुको पुरै प्यानल निर्विरोध निर्वाचित भएको क्याम्पस प्रमुख कैलाशकुमार कनौजियाले जानकारी दिनुभयो ।
यस्तै उपसभापतिमा जनक नाथ,सचिवमा धिरज जोशी र कोषाध्यक्ष ममता टेलर तथा सहसचिवमा सन्तोष बोगटी निर्विरोध निर्वाचित हुनुभएको छ।
सदस्यहरुमा हेमन्ती चन्द, मेघा बराल, चादनी वड र पुनम पन्त पनि निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस क्याम्पसमा १ सय ५५ मतदाता विद्यार्थी रहेका थिए ।





प्रतिक्रिया