दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ। फागुन २५ गते देखि चैत्र ४ गते सम्म सञ्चालन भएको गाउँपालिका स्तरीय कक्षा ८ उर्तीण बार्षिक परीक्षाको नतिजा शुक्रबार (आज) प्रकाशन गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत केशवराज ओझाले जानकारी दिनुभयो ।
गाउँपालिकामा यो बर्ष कक्षा ८ को परीक्षामा २ सय ७३ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीहरु मध्ये ५७ प्रतिशत विद्यार्थी उर्तीण भएको उहाँले बताउनुभयो ।
कुल २ सय ७३ जना मध्ये १ सय ५४ जना विद्यार्थी उर्तीण हुँदा, ४७ प्रतिशत अर्थात १ सय १९ जना विद्यार्थी अनुर्तीण भएको शिक्षा शाखा प्रमुख ओझाले बताउनुभयो ।
त्यस्तै चैत्र १५ र १६ गते बढीमा २ विषयमा अनुर्तीण भएका विद्यार्थीको लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने भएको छ ।परीक्षामा २ विषयमा ‘NG’ आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने उहाँले बताउनुभयो ।
ग्रेडवृद्धि परीक्षाको लागि गाउँपालिकाको वडा नम्बर ४ मा रहेको हुनैनाथ माध्यमिक विद्यालय रातामाटा र वडा नम्बर ५ मा रहेको लटिनाथ माध्यमिक विद्यालय चौपातामा परीक्षा केन्द्र निर्धारण गरिएको ओझाले बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा रहेका विद्यालयहरुको ग्रेडवृद्धि परीक्षा हुनैनाथ माध्यमिक विद्यालय रातामाटामा सञ्चालन हुने छ भने वडा नम्बर १, ५ र ६ का विद्यालयको लटिनाथ माध्यमिक विद्यालय चौपातमा परीक्षा सञ्चालन हुने उहाँले बताउनुभयो ।
साथै परीक्षा नतिजाको पुर्नयोग गर्न चाहने विद्यार्थीलाई चैत्र १० गते सम्म विद्यालयको सिफारिससहित गाउँपालिकाको शिक्षा शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।




