दार्चुला । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित जात्रा सम्पन्न भएको छ ।
शुक्रबारदेखि शुरु भएको जात्रा शनिवार (आज) सम्पन्न भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कार्यवाहक अध्यक्ष एवं मन्दिरका (भरणे) चक्रबहादुर बोहराले बताउनुभयो ।हरेक बर्ष वासन्तिक नवरात्रमा पनि पशु बलिसहित जात्रा लाग्ने गरेको छ । प्रतिपदादेखि पूजाआजा शुरु भइ चैत्राष्टमीका दिन पशु बलिसहित जात्रा सम्पन्न हुने गरेको बोहराले बताउनुभयो ।
निङ्गलाशैनी भगवती मन्दिरमा १ सय ६८ राँगा र झण्डै २ सय बोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो निङ्गलाशैनी भगवती मन्दिरमा असोज र चैतको जात्रामा राँगा र बोकाको बलि दिने प्रचलन रही आएको छ ।जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहने गर्दछ । भाकल अनुसार बलि दिने प्रचलन रही आएको भणरे बोहराले बताउनुभयो ।
बैतडीकै प्रमुख शक्तिपीठको रुपमा रहेको निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ । शरदीय नवरात्र र वासन्तिक नवरात्रमा बलिसहित यो मन्दिरमा जात्रा हुने गर्दछ । यस्तै भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमाका दिन पनि मन्दिरमा जात्रा हुने गरेको छ । यी दुई जात्रामा भने बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।





प्रतिक्रिया