दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा भोलीबाट सञ्चालन हुने भनिएको कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित भएको छ ।
नेपाल शिक्षक महासंघद्धारा शिक्षा ऐन संसोधनको माग सहित राष्ट्रव्यापी शैक्षिक आमहडतालका कारण चैत्र २५ गते (भोली) र २६ गते (पर्सी) हुने भनिएको कक्षा ८ को ग्रेड वृद्धि परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्रबहादुर बिष्टले जानकारी दिनुभएको छ ।
शिक्षक हरुले शैक्षिक आमहडतालमा ऐकेवद्धता जनाउने भएपछि परीक्षा व्यवस्थापनमा समस्या हुने भएकाले परीक्षा स्थगित गरिएको उहाँले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिकामा सञ्चालन भएको आधारभूत तह वार्षिक उर्तिण परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४० प्रतिशत विद्यार्थी उर्तिण भएका छन् ।
काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले आम शैक्षिक हड्तालको घोषणा गरेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भोलि सोमवारदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति निकालेर देशभरका सबै विद्यालय बन्द गरी आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गर्नुभएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासङ्घको नेतृत्वमा शिक्षकहरुले आन्दोलन गर्दै आएका छन् ।
गएको चैत २० गतेदेखि काठमाण्डौमा निरन्तर प्रदर्शन गरिरहेका छन् । महासङ्घले आन्दोलनको अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायतका कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ । उनीहरुको आन्दोलनका कारण विद्यालयमा भर्ना अभियान प्रभावित भएको छ ।
त्यस्तै एसईईको यसै हप्तादेखि उत्तरपुस्तिका परीक्षण शुरु गर्ने तयारी रहेकोमा ढिलाई हुने देखिएको छ ।






प्रतिक्रिया