दार्चुला । दार्चुला सदरमुकाम खलंगामा चैत १५ गते उद्घाटन भएको सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०८१ समापन भएको छ । अपि नाम्पा, चौलानी र महाकाली दार्चुलाको शान, स्थानीय उत्पादन, कला संस्कृति संरक्षण र सम्बर्द्धनमा हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव आज समापन भएको हो ।
महोत्सव सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक उद्योग बाणिज्य संघले धन्यवाद ज्ञापन गरेको छ । दार्चुला र धारचुलाका गरि १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको र स्थानीय देखि राष्ट्रिय दर्जनौं कलाकारले प्रस्तुति राखेको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिंह थापाले बताउनुभयो । महोत्सवमा रहेका स्टलहरूमा भने भोलि पनि कारोबार हुने बताइएको छ ।
उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिंह थापाको अध्यक्षता तथा पूर्व प्रदेश सभा सदस्य गेल्बुसिंह बोहराको प्रमुख आतिथ्यतामा समापन गरिएको कार्यक्रममा व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री बिष्ट, उद्योग बाणिज्य संघका पूर्व केन्द्रीय सदस्य मंगलसिंह ठगुन्ना, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी लगायतको विशिष्ट आतिथ्यता रहेको उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष बिसन सिंह बोहराले बताउनुभयो । महोत्सव समापन कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, कार्यालय प्रमुखहरू, विभिन्न संघ संस्थाका प्रमुख, राजनीतिकर्मी, कलाकार, सञ्चारकर्मी, सुरक्षाकर्मी, विभिन्न पेशाकर्मी र आम दर्शक लगायतको आतिथ्यता र सहभागीता रहेको थियो । कार्यक्रमका अतिथि र कलाकार सहित सहयोगी संस्था र व्यक्तिहरूलाई मायाको चिनोसहित सम्मानित गरिएको उद्योग बाणिज्य संघ दार्चुलाका महासचिव सर्पराज बडूले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया