दार्चुला । शिक्षकहरुको आन्दोलन तथा आम हडतालका कारण दार्चुलामा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना गर्ने र ५ गते पाठ्यपुस्तक वितरण गरि पुस्तक दिवस मनाउने शैक्षिक क्यालेण्डर भएपनि आन्दोलनका कारण प्रभावित बन्न पुगेको हो । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै १४ दिनदेखि काठमाण्डौमा गर्दै आइरहेको आम हडतालमा ऐकेवद्धता जनाएपछि जिल्लाभरीका सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको सम्बन्धित विद्यालयहरुले जनाएका छन् ।

जिल्ला सदरमुकाममा अवस्थित महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगा, मालिकार्जुन माध्यमिक विद्यालय धाप, लेकमको लटिनाथ माध्यमिक विद्यालय चौपाता, शैल्यशिखरको पशुपती भवन माध्यमिक विद्यालय ग्वानी लगायत जिल्लाभरीका सबै सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान स्थगित गरिएको छ ।

महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक चरणमा पु¥याउन भन्दै उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक भ्रमणजस्ता कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुने निर्णय गरेपछि उक्त निर्णयलाई समर्थन गर्दै आन्दोलनमा ऐकेवद्धता जनाउदै भर्ना अभियान स्थगित गरिएको मालिकार्जुन माध्यमिक विद्यालय धापका प्रध्यानाध्यापक सुन्दर सिंह बुढाथोकीले जानकारी दिनुभयो । माग पुरा नभए वैशाख ११ गतेदेखि शुरू हुने कक्षा १२ को परीक्षा सञ्चालनमा पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णयलाई समर्थन गर्ने उहाँको भनाई छ ।

आन्दोलनमा पुर्ण समर्थन जनाउदै विद्यार्थी भर्ना तथा नतिजा प्रकाशन, पाठ्यपुस्तक वितरण लगायतका कार्यक्रमहरु पुर्ण रुपले स्थगित गरिएको पशुपती भवन माध्यमिक विद्यालय ग्वानीका प्रध्यानाध्यापक ईश्वर सिंह धामीले जानकारी दिनुभयो । गुणस्तरीय विद्यालय शिक्षा तथा विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने प्रयास भइरहेको सरकारको दाबी छ । पटकपटक सम्झौता भएर पनि कार्यान्वयन नभएको भन्दै शिक्षकहरु प्रतिबद्धतामा विस्वास गर्न सकिने अवस्था नरहेको बताइरहेका छन् । तत्काल माग सम्बोधन गरिनुपर्नेमा शिक्षक महासंघको जोड छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?