दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत दार्चुला बहुमुखी क्याम्पसमा कार्यरत उपप्राद्यापक डम्बर सिंह साउँले परीक्षा मर्यादित र निस्पक्ष गर्न परीक्षा नियन्त्रण कार्यालय कञ्चनपुरसंग लिखित माग गर्नुभएको छ । परिक्षा नियन्त्रकलाई पत्र पठाउँदै उपप्राद्यापक साउदले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालित विभिन्न क्याम्पसहरूमा हुने परीक्षाहरूको गुणस्तरीयता, मर्यादा र निस्पक्षताका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको हो ।

आजको दिनसम्म विश्वविद्यालयका अधिकांश क्याम्पसहरूमा परीक्षा सञ्चालन प्रक्रियामा देखिएको कमजोरी, अनियमितता र अमर्यादित अभ्यासका कारण विश्वविद्यालयको शैक्षिक गुणस्तर र साखमा प्रतिकूल असर परेको स्मरण गराउदै उहाँले परीक्षाका क्रममा चिटचोरी, मोबाइल तथा एआई प्रविधिको प्रयोग गरी उत्तर लेख्ने जस्ता घटनाहरू दिनप्रतिदिन बढ्दो क्रममा रहेकोले परीक्षाको मर्यादा कायम राख्न कार्यविधि र निर्देशनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने विषय औल्याउनुभएको छ ।

परीक्षा केन्द्रभित्र मोबाइल फोन निषेध गरिएको नियमको समेत अवज्ञा भइरहेको र यसले परीक्षाको निष्पक्षता र विश्वसनीयता कमजोर बनाएको छ, निवेदनमार्फत उहाँले भन्नुभएको छ, विश्वविद्यालयभित्र यस्ता अमर्यादित गतिविधिहरू ढाकछोप गर्न राजनीतिक पहुँच प्रयोग हुने प्रवृत्तिले गलत मानसिकता भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने देखिन्छ। विश्वविद्यालयले गम्भीर ध्यान दिनु कुराहरु बुँदागत रुपमा उल्लेख गर्दै साउदले पत्र पठाउनुभएको हो ।

उपप्रध्यापक साउँदले पनिका लाई पठाएको पत्र हेर्नुहोस

मिति: २०८२/०१/०२

श्री परिक्षा नियन्त्रक ज्यू,
परिक्षा नियन्त्रण कार्यालय,
सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगर, कञ्चनपुर

विषय: परीक्षा मर्यादित र निस्पक्ष गर्ने सम्बन्धमा।

सविनय अनुरोधसाथ यस निवेदनद्वारा सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालित विभिन्न क्याम्पसहरूमा हुने परीक्षाहरूको गुणस्तरीयता, मर्यादा र निस्पक्षताका सम्बन्धमा ध्यानाकर्षण गराउन चाहन्छु।

आजको दिनसम्म विश्वविद्यालयका अधिकांश क्याम्पसहरूमा परीक्षा सञ्चालन प्रक्रियामा देखिएको कमजोरी, अनियमितता र अमर्यादित अभ्यासका कारण विश्वविद्यालयको शैक्षिक गुणस्तर र साखमा प्रतिकूल असर परेको छ। परीक्षाका क्रममा चिटचोरी, मोबाइल तथा एआई प्रविधिको प्रयोग गरी उत्तर लेख्ने जस्ता घटनाहरू दिनप्रतिदिन बढ्दो क्रममा रहेको पाइन्छ। यस्तो अमर्यादित प्रवृत्तिका बावजुद सम्बन्धित निकायहरूले प्रभावकारी रूपमा छानबिन तथा आवश्यक कारबाही नगरेको देखिनुले गलत अभ्यासलाई नै प्रश्रय दिने स्थिति सिर्जना भएको छ।
परीक्षाको मर्यादा कायम राख्न प्रष्ट कार्यविधि र निर्देशनहरू रहेको भए पनि, त्यसको प्रभावकारी कार्यान्वयन नहुनु चिन्ताको विषय बनेको छ।

परीक्षा केन्द्रभित्र मोबाइल फोन निषेध गरिएको नियमको समेत अवज्ञा भइरहेको र यसले परीक्षाको निष्पक्षता र विश्वसनीयता कमजोर बनाएको छ। विश्वविद्यालयभित्र यस्ता अमर्यादित गतिविधिहरू ढाकछोप गर्न राजनीतिक पहुँच प्रयोग हुने प्रवृत्तिले गलत मानसिकता भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने देखिन्छ।

अझ विशेष दुःखको कुरा के छ भने परीक्षालाई मर्यादित र निस्पक्ष बनाउन लागि परेका इमान्दार प्राध्यापक तथा कर्मचारीहरू विद्यार्थी नेताहरूको दुव्र्यवहार र हातपातको शिकार बन्नुपरेका घटनाहरू पनि सार्वजनिक भएका छन्। यस्ता घटनामा संलग्न व्यक्तिहरूमाथि विश्वविद्यालयको नियमअनुसार कारबाही हुनुपर्ने माग गरिँदा पनि सम्बन्धित निकायका पदाधिकारीहरूले निष्पक्ष छानबिन नगर्नु दुःखद विषय हो।

यसैले, अबका दिनहरूमा विश्वविद्यालयले निम्न बुँदाहरूमा गम्भीर ध्यान दिनु आवश्यक देखिन्छः

१. परीक्षा सञ्चालन प्रक्रियालाई पूर्णतः मर्यादित, निस्पक्ष र पारदर्शी बनाउन विशेष निगरानी र कार्यान्वयन प्रक्रिया बनाउनुपर्ने।
२. मोबाइल फोन तथा चिटचोरी नियन्त्रण गर्न परीक्षा केन्द्रहरूमा कडाइका साथ अनुगमन गर्नुपर्ने।
३. सबै परीक्षा केन्द्रहरुमा निगरानी टोली खटाउनुपर्ने जसले परीक्षा अवधिभर अनुशासन र मर्यादा कायम गर्न सघाउनेछ।
४. परीक्षा तथा विश्वविद्यालयका हरेक गतिविधिहरूमा दुई तहको अनुगमन प्रणाली लागू गर्नुपर्ने – एक नियमित अनुगमन र निरीक्षण र अर्को अनुगमनकर्ताको समेत अनुगमन गर्ने व्यवस्था।
५. परीक्षा मर्यादित बनाउन लागि परेका प्राध्यापक, कर्मचारी र इमान्दार विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने।
६. अमर्यादित कार्यमा संलग्न व्यक्तिहरूलाई संरक्षण नगरी कडा कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने।

उपयुक्त पहलद्वारा विश्वविद्यालयको साख र शैक्षिक गुणस्तर कायम राख्न सकिन्छ भन्ने विश्वाससहित यस निवेदनमा उल्लेख गरिएका विषयहरूमा आवश्यक ध्यान दिनुहुन अनुरोध गर्दछु।

निवेदक: डम्मर सिंह साउद
उपप्राद्यापक, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखि क्याम्पस

बोधार्थः
श्री रजिष्ट्रारको कार्यालय, सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगर, कञ्चनपुर

श्री उपकुलपतिको कार्यालय, सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगर, कञ्चनपुर

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?