दार्चुला । दार्चुलामा कक्षा १२ को परीक्षाको तयारी पुरा भएको छ ।
बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षाको तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।
यस वर्ष कक्षा १२ को परीक्षा जिल्लाभरीका १३ वटा परीक्षाकेन्द्रबाट सञ्चालन हुने उहाँले बताउनुभयो ।
जिल्लाभरीबाट २ हजार १ सय बढी विद्यार्थीहरु परीक्षामा सहभागी हुने बताइएको छ । १३ वटै परीक्षाकेन्द्रहरुमा सम्बन्धित विद्यालयका प्रध्यानाध्यापक अथवा सहायक प्रध्यानाध्यापकहरुलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ, भने केन्द्रहरुमा प्रवेश पत्र, उत्तरपुस्तिका र प्रश्नपत्रहरु लगायत आवश्यक परीक्षा साम्रगीहरु पठाइ सकिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जय राज पन्तले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई सम्बन्धित विद्यालय अथवा परीक्षाकेन्द्रहरुमा सम्पर्क गरेर प्रवेश पत्र बुझ्न अनुरोध गरिएको छ । परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने भएकाले ढुक्क भएर परीक्षा दिन शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले अनुरोध गरेको छ ।





प्रतिक्रिया