दार्चुला । दार्चुलामा धमाधम ग्रामिण विद्युतिकरण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामिण विद्युतिकरण आयोजनामार्फत जिल्लाका सबै स्थानीय तहमा विद्युतीकरणको काम गरिरहेको हो ।

दार्चुलामा विद्युतको मेनलाइन र शाखालाईनको काम धमाधम भइरहेको छ, विद्युत प्रोजेक्टका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले भन्नुभयो, प्रोजेक्टले जिम्मा पाएको १२३ लोडसेन्टरमध्ये ८० वटा लोडसेन्टरमा ट्रान्सफर्मर चढाइसकेका छौँ । बाँकीमा समेत असार मसान्तसम्म ट्रान्सफर्मर चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ । यसअघि विद्युत प्राधिकरणले दार्चुलामा दुई सय बढी ट्रान्सफर्मरमार्फत विद्युत वितरण गरेको छ । मार्माको वडा नम्बर १ र अपिहिमालको दुर्गम गाउँहरुमा भगौलिक विकटताका कारण काम गर्न केही ढिलाई तथा कठिनाइ भइरहेको उहाँले बताउनुभयो । लेकमको विकट क्षेत्र रतौडामा केही दिन पहिले ट्रान्सफर्मर राखिएको छ । महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखर लगायत अधिकाशं स्थानीय तहमा विद्युतिकरणको काम अन्तिम चरणमा पुगेको छ । व्याँस, मार्मा, नौगाड, अपिहिमालमा पनि काम भइरहेको छ, उहाँले भन्नुभयो, जिल्लाभरी विद्युतिकरणको काम तिब्र गतिमा भइरहेको छ । सबैतिर काम भइरहेकोले विद्युत लाइनका तार र पोल अभाव भइरहेको उहाँले बताउनुभयो ।

दार्चुलामा हालसम्म ७० प्रतिशत घरधुरीमा बिजुली बलिसकेको छ । करिब २८ हजार घरपरिवार बसोबास रहेको यस जिल्लामा २० हजार घरधुरीमा विद्युतिकरण भएको नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटाले बताउनुभयो । करिब २० हजार घरमा बिजुली पुगिसकेको छ, उहाँले भन्नुभयो, केही महिनापहिलेसम्म एक देखि दुई सय मिटरमात्रै बिक्रि भइरहेकोमा अहिले मासिक चार देखि पाँच सय मिटरको माग आइरहेको छ । मासिक मिटर बिक्रि वितरणको तथ्यांक हेर्दा पनि पछिल्लो समय विद्युतिकरणको काम तिब्र गतिमा भइरहेको देखिन्छ ।

दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलभिसा गरी तीन वटा शवस्टेसनमार्फत विद्युत वितरण गरिएको छ । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका अनुसार लेकम गाउँपालिकाको सिरोडामा सबस्टेसन निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । दुहुँ क्षेत्रमा समेत एउटा सबस्टेसन राख्नका लागि प्रकृया अघि बढाइएको वितरण केन्द्र प्रमुख सापकोटाले बताउनुभयो । केही दिन पहिले बलाँचस्थित चमेलिया शवस्टेसनमा चट्याङ लागेर ट्रान्सफर्मर जलेको कारण विद्युत आपुर्ति प्रभावित भइरहेको थियो । अहिले जलविद्युत केन्द्र देबीघाटबाट ट्रान्सफर्मर ल्याएर जडान गर्ने तयारी भइरहेको छ । बलाँच शवस्टेसनमा ट्रान्सफर्मर सञ्चालन नहुदासम्म मार्मा शवस्टेसनबाट विद्युत आपुर्ति भइरहेको वितरण केन्द्र प्रमुख सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?