दार्चुला । दार्चुलाको विकासका लागि महत्त्वपूर्ण योजनाहरूमा आवश्यक बजेट विनियोजन गरिदिन तथा आवश्यक निर्णय गरिदिन पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको नेतृत्वमा एमाले नेताहरूले बालुवाटार पुगेको मागपत्र पेस गरेका छन् । एमाले दार्चुलाको टोलीले दार्चुला जिल्ला सदरमुकाम गल्फै क्षेत्रमा २०७० सालको महाकाली बाढी बाट नेपालको सयौं रोपनी जग्गा महाकाली नदी पारी परेको र हाल भारतीय पक्षबाट एकतर्फी रुपमा शो क्षेत्रमा तटबन्ध निर्माणको कार्य गरिरहेकोले साबिक पुरानै नक्सा अनुसार तटबन्ध निर्माण गर्न र हाल शो निर्माण कार्य रोक्न भारत सरकारलाई अनुरोध गरिदिन र सदरमुकाम क्षेत्रको लास्कु, बाङ्गाबगड, कलौन क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्न आवश्यक बजेट व्यवस्थापनको लागि अनुरोध छ ।
यस्तै महाकाली कोरिडोरको दार्चुला-तिंकर खण्ड (तुषारपानी- तिंकर) सडकमा नेपाली सेना लाई आगामी आर्थिक वर्षमा न्युनतम रू ५० करोड बजेट बिनियोजन गरिदिन अनुरोध गरिएको छ । दार्चुला जिल्लाको एकमात्र विमानस्थल गोकुलेश्वर विमानस्थल आर्थिक वर्ष ०७९/८० मा बहुबर्षिय स्विकृति भई प्रथम चरणको काम सम्पन्न भई सकेको अवस्थामा चालु आ.व. मा बजेट अभावले थप कार्य संचालन नभएकोले आगामी आ.व. मा न्युनतम रू २० करोड बजेट बिनियोजन गरिदिन अनुरोध गरिएको छ ।
दार्चुला जिल्लाको एकमात्र निर्वाचन क्षेत्र रणनितिक सडक खलंगा-देथला-बिटुले-पारीबगर-खण्डेश्वरी सडकमा बजेट अभावले निर्माण कार्य सुस्त भएकोले न्युनतम ५० करोड बजेट बिनियोजन गरिदिन अनुरोध गरिएको छ । दार्चुला जिल्लाको तिंकरमा चीन सरकार को तिब्बत ताक्लाकोट व्यापारिक मंडी र कैलासमानसरोवर यात्रीहरुको लागि अध्यागमन कार्यालय तत्काल स्थापना र तिंकरमा सुख्खा बन्दरगाह (Dry Port) निर्माणको लागि अनुरोध गरिएको छ ।
यस्तै दार्चुला जिल्लामा प्रधानमन्त्री ओलीकै अठोट अनुरूप लाली, बाँकु, बडुगाँउ, तिग्रम, मलघट्टे र मालमा तुईन उन्मुलन भई झोलुङ्गे पुल निर्माण भई आवागमन संचालन भईरहेकोले ब्याँस गाँउपालिका वा.नं. २ दुम्लिङ मा नदीमा झोलुङ्गे पुल निर्माण बाकि रहेकोले अभिलम्ब भारत सरकारसँग पहल गरि झोलुङ्गे पुल निर्माण गरिदिन अनुरोध गरिएको छ ।
राष्ट्र कै सातौं धाम “मालिकार्जुन धाम” लाई धार्मिक र पर्यटकीय गन्तव्यको हिसाबले बिकास गर्नु जरुरी भएकोले” मालिकार्जुन धार्मिक पर्यटकीय कार्यक्रम” संचालन गरिदिन हुन अनुरोध गरिएको छ ।
दार्चुला जिल्लाको त्रि.वि. बाट सम्बन्धन प्राप्त शंकरपुर क्याम्पस सु.प. सिनेटबाट आङ्गिक को निर्णय भई कार्यान्वयन हुन बाकी रहेकोले शो निर्णय कार्यान्वन गरिदिनहुन र लाली, लटिनाथ, हुति र दत्तु क्याम्पसहरुलाई सु.प. विश्वविद्यालयको आङ्गिक क्याम्पस मा समावेश गरिदिन अनुरोध गरिएको छ ।
यस्तै महाकाली लोकमार्गको गोकुलेश्वर देखि सदरमुकाम सम्म र सदरमुकाम देखि तुषारपानी-तिंकर सडक लाई “प्रेम सिंह धामी लोकमार्ग” नामाकरण गरिदिन अनुरोध गरिएको छ । मागपत्रसहित बाहेक दार्चुलाको विकास योजना र आवश्यकता बारे छलफल भएको र बजेट तथा कार्यक्रम माग गरिएको नेताहरूले बताएका छन् ।
दार्चुलाको मागपत्र पेस गर्न प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेको टोलीमा पुर्वमन्त्री एवम् नेकपा (एमाले) पोलिट्ब्यूरो सदस्य गणेश सिंह ठगुन्ना, केन्द्रीय कमिटी सदस्य हरदेव जोशी, सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य प्रेम सिंह धामी, प्रदेश कमिटी सदस्य द्वय लाल बहादुर धामी र उमेश खत्री, राष्ट्रिय खेलकुद परिषद् सदस्य जगत धामी, सुदूरपश्चिम प्रदेश प्रचार विभाग सदस्य खडक बडाल, नेकपा (एमाले) जि.क. सचिवालय सदस्य एवम् महाकाली नगर प्रमुख नर सिंह चैसिर, मदन भण्डारी फाउण्डेशन जिल्ला कार्य समिति दार्चुलाका अध्यक्ष खिमानन्द भट्ट, कमल सिंह धामी, दौलतसिंह ठगुन्ना लगायत सहभागी थिए ।






प्रतिक्रिया