भारतीय बाटो प्रयोग गर्दै ‘थातथलो’ पुग्यो ब्याँसीको कुञ्चा

दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय ६ महिनापछि गाउँ फर्किएका छन् ।

गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन् । ‘६ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ’, स्थानीय जसपाल तिंकरीले भन्नुभयो ‘भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन् ।” ६ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ ।

टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन् । ‘आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ’ वडा नम्बर १ का वडा सदस्य एवं टिंकरका स्थानीय हितेश बुढाथोकीले भन्नुभयो । आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ । राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो ।

सरकारले विशेष अनुदानअन्तर्गत चालू आर्थिक वर्षमा  पाँच करोड ५० लाख बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेको छैन् । यद्यपी गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ ।

यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका व्यासीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकीले बताउनुभयो । उहाले भन्नुभयो ‘कहिलेकाही आफ्नै सरकारप्रति हिनताबोध हुन्छ ।’ विसं २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए । “भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस गर्यौू।

यहाँका बासिन्दा वर्षको आधा समय खलङ्गामा र बाँकी समय टिंकरमा बस्ने गर्छन् । उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइसराइ हो । तीन हजार तीन सय मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न सकिँदैन दानसिंह भन्छन् । चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलङ्गातिर सर्ने गरेका छन् ।

यहाँका स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडिबुटी सङ्कलन हो । त्यस्तै उक्त क्षेत्रमा फापर, उवा, काकनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ । उनीहरू गाई, चौरी, खच्चड, घोडा, बाख्रा पाल्छन् । अहिले गाउँपुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन् ।

त्यस्तै व्याँस गाउँपालिका वडा नम्बर १ तिंकरबासीहरू वर्षको करिब ६ महिना गाउँमा बसोबास गर्छन् । सो अवधिमा स्वास्थ्य चौकी नहुँदा उनीहरू सामान्य रोग लाग्दा पनि भारतीय सुरक्षाकर्मी समक्ष धाउनुपर्ने बाध्यता रहेको छ ।दार्चुलाको टिंकर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाइ अधिकतम छ महिनासम्म मात्र हुने गरेको छ । चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीय जस्तै बसाइ सर्नुपर्ने अवस्था रहेको छ ।

स्थानीयको कुञ्चागाउँ पुग्ने बेला सशस्त्र प्रहरी टिंकर उक्लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति डिएसपी लीलीबहादुर चन्दले बताउनुभयो । अहिले सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक अनिल शाहीको नेतृत्वमा सशस्त्र प्रहरी टिंकरमा खटिएको हो । उनीहरू भारतीय बाटो हुँदै टिंकरको छायालेक बीओपी पुगेका छन् ।दुई वर्षदेखि टिंकरको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो । व्यासकै छाङ्गरूमा गुल्म रहेको छ । चुच्चे नक्सा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो । छाङ्गरूमा सशस्त्र प्रहरी र नेपाल प्रहरी भने वर्षभरि नै बस्ने गर्छन् ।

नेपाल प्रहरी भने एक दुई दिनभित्र टिंकर उक्लिने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र रावतले बताउनुभयो । अहिले नेपाल र भारत दुवैतर्फबाट अनुमति पत्र बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?