दार्चुला । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आज बैतडीबाट सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभारम्भ गर्नुभएको हो ।
बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारक उद्घाटन गरेर अध्यक्ष दाहालले जनजागरण अभियानको शुक्रबार शुभारम्भ गर्नुभएको अखिल क्रान्तिकारी केन्द्रीय उपमहासचिव रामचन्द्र भट्टले बताउनुभयो ।
अभियानको शुभारम्भपश्चात अध्यक्ष दाहालले पाटनस्थित खुलामञ्चमा आयोजना गरिएको आमसभालाई सम्बोधन गनुभएको थियो । यो अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ। अभियानमा भाग लिन पार्टीका अध्यक्ष ‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, गंगा दाहाललगायत नेताहरू यहाँ आउनुभएको हो ।
कार्यक्रमलाई बोल्दै पार्टी अध्यक्ष प्रचण्डले गरीब र निमुखाको पार्टी माओवादी मात्रै भएकाले आफूहरुलाई सबैले साथ दिनु पर्नेमा जोड दिनुभयो ।
तराई–पहाड र हिमाललाई एकताबद्ध रुपमा जोड्ने र यो अभियानमार्फत सरकारलाई खबरदारी गर्ने उहाँले बताउनुभयो ।
माओवादी पार्टी जनताको पार्टी रहेको बताउँदै उहाँले उत्पीडित वर्गको हकअधिकारका लागि माओवादी केन्द्र बलियो हुनुपर्ने उहाँले तर्क गर्नुभयो ।किसानका समस्या समाधानका लागि कृषिमा क्रान्ति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सुदूरपश्चिम विकासको गतीमा अझै पछाडी परेको बताउँदै उहाँले यहाँको विकास नभइकन देश बलियो हुन नसक्ने बताउनुभयो ।२०८४ को आमनिर्वार्चनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने उद्घोष गर्दै अध्यक्ष दाहालले आउने चुनावमा माओवादीलाई बलियो बनाउन आह्वान गर्नभयो ।कर्मचारी ऐनको माग गर्दै आन्दोलनमा रहेका सुदूरपश्चिमका कर्मचारीको माग सम्बोधन गर्न पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने पार्टीका बैतडी जिल्ला संयोजक शंकर भण्डारीले बताउनुभयो ।
अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्ने भण्डारीले बताउनुभयो । यसले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको उहाँले बताउनुभयो ।
जेठ २ शुक्रबार बैतडीको पाटनबाट सुरु भएको अभियान जेठ १० गते कास्की पोखरामा समापन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ। नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आज बैतडीबाट सुरु भएको छ ।





प्रतिक्रिया