दार्चुला । दार्चुलामा बैशाख १९ गतेबाट सञ्चालन भएको विद्यार्थी भर्ना अभियान सम्पन्न भइ नियमित पठनपाठन कार्य सुरु भएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गतिविधि शिक्षक महासंघ र सरकारबिच बैशाख १८ गते ९ बुँदे सहमती भएपछि बैशाख १९ गते बाट विद्यार्थी भर्ना अभियान सुरु भएकोे थियो । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले विद्यार्थी भर्नाको लागि निश्चित मापदण्ड तयार पारेर स्थानीय तहका शिक्षा तथा खेलकुद शाखाहरुलाई पठाएर भर्ना उमेरसमुहका विद्यार्थीहरुलाई भर्ना गर्न अनुरोध गरेको थियो ।
सोही अनुसार जिल्लाभरीका सामुदायिक विद्यालयहरुमा भर्ना अभियान सञ्चालन गरिएको बताइएको छ । हाल नेपाल सरकारले अनिवार्य शिक्षा लागू गरेकाले उमेर पुगेका छुटफुट बालबालिकाहरुलाई नछुट्ने गरी घरदैलो भर्ना अभियान समेत सञ्चालन गरी बालवालिकाहरुलाई विद्यालयहरुमा भर्ना गराइ आजबाट नियमित पठनपाठन सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।
अहिले जिल्लाभरीका विद्यालयहरुमा भर्ना भएका विद्यार्थीहरुको बिवरण संकलन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया