शैक्षिक गुणस्तर सुधार गर्न सरस्वती मावि सेलिचामामा ‘डे-बडर्स’ र अतिरिक्त कक्षा सञ्चालन

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ मा रहेको सरस्वती माध्यमिक विद्यालय सेलिचामामा शैक्षिक गुणस्तर सुधारको लागि ‘डे-बडर्स’ कार्यक्रम लागु गर्ने निर्णय भएको छ।

आइतबार (आज) बसेको शिक्षक अभिभावक संघको बैठकले विद्यालयमा ‘डे-बडर्स’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको विद्यालयका सूचना अधिकारी मोहन सिंह रावतले जानकारी दिनुभयो ।  शैक्षिक गुणस्तर सुधारको लागि कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई विहान ७ बजे देखि साँझ ५ बजे सम्म विद्यालयमै राखेर पढाउने (‘डे-बडर्स’) निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक भुवन बहादुर डाँगाले बताउनुभयो ।

सामुदायिक विद्यायलमा शैक्षिक गुणस्तर राम्रो नभएको गुनासो आउने गरेकोमा विद्यालयले गरेको निर्णय स्वागतयोग्य रहेको विद्यालयका अभिभावक पुरन सिंह धामीले बताउनुभयो । विद्यालयले गरेको यो निर्णयले विद्यार्थीको शैक्षिक स्तर सुधार हुने अर्का अभिभावक प्रताव सिंह धामीले विश्वास व्यक्त गर्नुभयो ।

‘डे-बडर्स’ कार्यक्रम अन्तरगत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई  विहान ७ बजे देखि ५ बजे सम्म विद्यालयमै राखेर गृहकार्य गराउने, व्यक्तिगत सरसफाई, अतिरिक्त क्रियाकलाप र खानाको व्यस्थापन विद्यालयमै गरिने विद्यालयका सूचना अधिकारी रावतले जानकारी दिनुभयो ।

कक्षा १० सम्म पढाई भईरहेको विद्यालयमा हाल १ सय ४९ जना विद्यार्थी अध्यनरत रहेका छन् । कक्षा ५ सम्मका विद्यार्थीको लागि खानाको व्यवस्थापन अभिभावकले गर्ने निर्णय भएको पनि रावतले जानकारी दिनुभयो ।

जेष्ठ १५ गते देखि उक्त कार्यक्रम नियमित रुपमा लागु गरिने विद्यालयका प्रधानाध्यापक डाँगाले जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष भुवन सिंह धामीको अध्यक्षतामा बसेको बैठकमा विद्यालय व्यवस्थापन समितिअध्यक्ष धन सिंह धामी प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुवन बहादुर डाँगा, शिक्षक कर्मचारी, जनप्रतिनिधि, अभिभावक लगायतको उपस्थिती रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?