दार्चुला । आर्थिक वर्ष २०८२।०८३ मा संघीय विशेष अनुदान अन्तरगत दार्चुलाका स्थानीय तहबाट कार्यान्वयन हुनेगरी १४ वटा आयोजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरिएको छ ।
विशेष अनुदान अन्तरगत स्थानीय तहबाट कार्यान्वयन हुने अधुरा, क्रमागत र नयाँ गरी जिल्लाभरी १४ वटा आयोजना तथा कार्यक्रममा कुल १९ करोड ८८ लाख बजेट विनियोजन गरिएको हो ।
संघीय सरकारको विशेष अनुदान विनियोजन विवरण अनुसार व्याँस गाउँपालिकाको डोकट लिफ्ट खानेपानी आयोजनामा ६७ लाख बजेट विनियोजन गरिएको छ ।
दुहुँ गाउँपालिकामा आर्थिक सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेका वर्ग समुदाय वा क्षेत्रको उत्थान तथा विकासका लागि उत्पादन र उत्पादकत्व बृद्धि एवम् आयआर्जन तथा जीविकोपार्जन सुधार कार्यक्रमका लागि एक करोड ६२ लाख बजेट विनियोजन गरिएको छ ।
महाकाली नगरपालिकामा विद्यालय फर्निचर, शैक्षिक सामग्री, कम्प्युटर, डिजिटल बोर्ड, घेरबार पर्खाल निर्माण तथा भवन मर्मतका लागि पुँजीगततर्फ ६८ लाख रुपियाँ विनियोजन गरिएको छ ।
नौगाड गाउँपालिकाको क्रमागत योजना धुलिगाडा खोला मसानघाटदेखी काठाबगरसम्म पक्की तटबन्ध निर्माणका लागि दुई करोड ८० लाख रुपियाँ विनियोजन गरिएको छ । नौगाड गाउँपालिकाका स्वास्थ्यसंस्थाहरुका लागि स्वास्थ्य उपकरण तथा शैय्या खरिद योजना अन्तरगत एक करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।
अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी मावि भवन निर्माणका लागि क्रमागत योजना अन्तरगत दुई करोड बजेट विनियोजन गरिएको छ । अपिहिमालको व्यवसायीक कृषि, जडिबुडी तथा नश्ल सुधारसहित पशुपन्छि प्रवद्र्धन कार्यक्रम अन्तरगत एक करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।
मार्मा गाउँपालिकाको तपोवन मावि भवन निर्माणका लागि क्रमागत योजना अन्तरगत ४५ लाख बजेट विनियोजन गरिएको छ । मार्माकै पशुपालन प्रवद्र्धन कार्यक्रमका लागि एक करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।
शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पताल उपकरण व्यवस्थापनका लागि एक करोड ६३ लाख बजेट विनियोजन गरिएको छ ।
मालिकार्जुन गाउँपालिकाको शैक्षिक विकासको लागि सेवा गुणस्तर सुधार कार्यक्रम अन्तरगत एक करोड ६१ लाख बजेट विनियोजन गरिएको छ ।
लेकम गाउँपालिकाको पोषण सुधार कार्यक्रमको लागि एक करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै स्थानीय तहबाट माग भएका अधुरा आयोजना कार्यक्रम अन्तरगत मार्माको सितोला स्वास्थ्य चौकी भवन निर्माणका लागि एक करोड तीन लाख र मालिकार्जुन गाउँपालिकाको सरस्वती मावि सेलिचामा भवन निर्माणका लागि एक करोड ७२ लाख बजेट विनियोजन गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




