दार्चुला । शुक्रवार बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर ६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका हुन्। आगलागीबाट ३५ पसलको क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एंव सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले प्रारम्भिक रूपमा ३५ पसलको क्षतिको विवरण सङ्कलन गरेको र उक्त पसलको आठ करोड ७७ लाख ६५ हजार क्षति भएको उहाँले बताउनुभयो।
प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको एक करोड ८० लाख क्षति भएको पाइएको छ। यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको एक करोड ५० लाख, छत्र थापाको एक करोड ५० लाख र धनबहादुर साउदको एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले सङ्कलन गरेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो।
आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन। आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुुस्तक पसल र होटेल जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ। आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ।
शुक्रवार अपराह्न ३ः३० बजे ग्यास सिलिन्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नि नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरूले गुनासो छ ।
आगलागी भएपछि सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेको उनको निजी सचिवालयले जनाएको छ। मन्त्री पाण्डेले आगलागीको क्षतिको अनुगमन गर्ने र उनीहरुका गुनासो सुन्ने गरी प्रभावित क्षेत्रमा पुगेको सचिवालयले जानकारी गराएको छ ।





प्रतिक्रिया