दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले बजेट पेस गर्ने समय सारेको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट आज ५ बजेको प्रदेश सभाको बैठकमा पेस गर्ने कार्यसूची रहेको थियो। तर, प्रदेश सरकारले आन्तरिक तयार पूरा नभएको भन्दै आइतवार (आज) साँझ ७ बजेको प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्ने सचिवालयले जनाएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको दल नेपाली काँग्रेस र एमालेका मन्त्रीहरूको बिचमा नै बजेटको आकार र योजनाका विषयमा असमझदारी उत्पन्न भएको हो।
मुख्यमन्त्री शाह, आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबिच शनिवार रातभर र आइतवार बिहानसम्म पनि बजेटको रकम तथा योजना खिचातानी चलेको छ। प्रदेश नीति तथा योजना आयोगले २४ अर्बको बजेट सिलिङ निर्धारण गरेको थियो। तर, खिचातानीपछि ३१ अर्ब ४७ करोडको बजेट आउन लागेको आर्थिक मामिला मन्त्रालयले बताएको छ। सुदूरपश्चिम सरकारले २९ देखि ३० अर्बको बीचमा बजेट आउने बताउदै आएको थियो।
आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल र मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिवार राति बजेट तथा कार्यक्रम खिचातानी भएपछि समस्या भएको मन्त्रालयले बताएको छ।
पाल एमालेबाट प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री हुन् भने आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा र मुख्यमन्त्री काँग्रेसका हुन्।




