दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा किशोरीसंग उपाध्यक्ष कार्यक्रम सुरू भएको छ । लेकम गाउँपालिकाभित्रका १० वटै माध्यमिक विद्यालयबाट १०/१० जना गरि १०० जना किशोरीलाई बालविवाह नियन्त्रण सम्बन्धि अभिमुखीकरण र शैक्षिक सामग्री वितरण कार्य भइरहेको लेकम गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अधिकृत छैटौं शेखरचन्द्र ओझाले जानकारी दिनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन लेकम-५ मा अवस्थित लटिनाथ मावि चौपातामा वडा नम्बर १ को बडिपुर मावि सर्मोली, लेकम-५ को लटिनाथ मावि चौपाता र ऐडिबाग मावि मैखोली र वडा नम्बर ६ को मालिकार्जुन मावि तेलिगाउँ गरी चार वटा विद्यालयका ४० जना किशोरीलाई अभिमुखीकरण र शैक्षिक वितरण कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । वडा नम्बर ५ का वडाअध्यक्ष बल्देबसिंह बोहरा, लटिनाथ मावि चौपाताका सहायक प्रधानाध्यापक द्वय मोहादेब बिष्ट र महेशराज जोशी, इप्रका चौपाताका इन्चार्ज सइ मोतीसिंह बम, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शेखरचन्द्र ओझा, रोजगार संयोजक राधाबल्लब जोशी, रेडियो लोकदर्पणका स्टेसन म्यानेजर लोकेन्द्र प्रसाद जोशी, चार वटै विद्यालयका शिक्षक प्रतिनिधिहरूको आतिथ्यता रहेको कार्यक्रममा ४० जना विद्यार्थी तथा किशोरीहरूको सहभागीता रहेको थियो ।
किशोरीसंग उपाध्यक्ष कार्यक्रम अन्तरगत शुक्रबार (भोली) लेकम गाउँपालिकाको केन्द्र रातामाटामा हुनैनाथ मावि रातामाटा, गल्लाकेदार मावि खरकडा र कृष्ण मावि लालीबाट छनोट भएका ३० जना विद्यार्थी तथा किशोरीलाई शैक्षिक सामग्री वितरण र अभिमुखीकरण कार्य गरिने बताइएको छ । यस्तै शनिबार हुनैनाथ मावि कुणीमा मावि धरमघर, कुणी र गाडागाउँका ३० जना विद्यार्थी किशोरीलाई अभिमुखीकरणसहित शैक्षिक सामग्री वितरण गरिने महिला बालबालिका शाखा प्रमुख ओझाले बताउनुभयो ।
कार्यक्रममा २० वर्ष नपुग्दै हुने बिवाहका कारण, हानी तथा गलत प्रभाव, कानूनी प्रावधान र समाधानका विषयमा अभिमुखीकरण गरिदैछ । साथै विद्यार्थीलाई प्रोत्साहनस्वरूप कापी, कलम, झोला, छाता, क्यालकुलेटर, बोतल लगायत शैक्षिक सामग्री वितरण गरिएको लेकम गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमका प्रशिक्षकहरूले बालविवाह गरेमा हुने शारीरिक, मानसिक र सामाजिक समस्या तथा नकारात्मक असर, कानूनी सजाय लगायत विषयमा प्रशिक्षण गर्नुभयो । अझैपनि आर्थिक समस्या, धर्म, परम्परा, जातीय मूल्य र लैङ्गिक भेदभाव लगायत कारणले बालविवाह हुने गरेकोले यसको रोकथामका लागि आफुबाट सुरू गरेर अरूलाई समेत सचेत पार्नुपर्नेमा जोड दिइएको छ ।
लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले किशोरीलाई हेर्ने गलत सामाजिक दृष्टिकोण परिवर्तन हुनुपर्ने बताउनुभयो । यो उमेरमा समाज, प्रविधि तथा सामाजिक सञ्जाल र गलत संगतका कारण बहकाउमा फस्ने जोखिम हुने भएकोले आफुलाई बलियो र सकारात्मक बनाउन सक्नुपर्ने सुझाव दिनुभयो । छोरीलाई बोँझको रूपमा लिने गलत सामाजिक परम्पराका कारण अझैपनि कतिपय किशोरीको सानै उमेरमा बिवाह हुने गरेको बताउदै उहाँले सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले किशोरावस्था जोखिमपूर्ण समय भएकोले सकारात्मक सोचाइका साथ पढाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यो समयमा सकारात्मक सोचका साथ भविष्य निर्माणमा केन्द्रीत हुनुपर्ने उहाँले बताउनुभयो । बालविवाहले शिक्षा, स्वास्थ्य, अधिकार र समग्र जीवनमा असर पार्ने भएकोले बालबालिका नियन्त्रण गर्न सबैले सचेत हुनुपर्ने उहाँको भनाइ छ ।





प्रतिक्रिया