दार्चुला । साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई आज ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले आज धनगढीमा आयोजित समारोहमा साक्षर सुदूरपश्चिम प्रदेश घोषणा गरेका हुन् । सो अवसरमा उनले सूचना र प्रविधिले फड्को मारेको वर्तमान परिप्रेक्ष्यमा समयानुकूल शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।
१५ वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा माथि पुगेपछि प्रदेशलाई साक्षर घोषणा गरिएको हो । ९५ प्रतिशतमाथि साक्षरता प्रतिशत पुगेमा साक्षरता घोषणा गर्न सकिने नीति छ । शिक्षा विकास निर्देशनालय दीपायलका निर्देशक दुर्गादत्त विष्टका अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका १६ लाख २३ हजार ७१९ जनसङ्ख्याको ९६ दशमलव १९ प्रतिशत साक्षर भइसकेका छन् ।
प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा पहिले दार्चुला साक्षर जिल्ला घोषणा गरिएको थियो । सबैभन्दा पछि साक्षर जिल्ला घोषणा डोटी जिल्लालाई गरिएको थियो ।१५ देखि ६० वर्ष उमेर समूहका कैलालीमा ९६ दशमलव २०, कञ्चनपुरमा ९६ दशमलव २१, अछाममा ९५ दशमलव ५५, डोटीमा ९६ दशमलव ५५, बाजुरामा ९७ दशमलव ३१, बझाङ ९५ दशमलव ६०, डडेलधुरामा ९६ दशमलव आठ, बैतडीमा ९६ दशमलव ५३ र दार्चुला जिल्लामा ९५ दशमलव ४० प्रतिशत जनसङ्ख्या साक्षर भइसकेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
यसअघि प्रदेशका नौँ वटै जिल्लालाई क्रमशः साक्षर जिल्ला घोषणा गरिएको थियो ।





प्रतिक्रिया